काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले यातायातमा १० प्रतिशत भाडा वृद्धि गरेको निर्णयप्रति आपत्ति जनाएका छन् । उनीहरुले सोमबार बिहान एक घण्टा चक्काजाम गर्दै सरकारको निर्णय प्रति आपत्ति जनाएका हुन् ।
काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लगाएर विरोध गरिएको हो ।
सरकारले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरेको विरोधमा काठमाडौं लगायत देशभरका क्याम्पसअगाडि नेविसंघले सोमबार बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गरेको थियो । नेविसंघले गरेको चक्काजामका कारण राजधानीको सवारी साधान एक घण्टा प्रभावित भएको थियो ।
उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा अन्दोलनमा जाने समेत चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने नेविसङ्घ अध्यक्ष नैनसिंह महरले बताए ।
विरोध प्रर्दशनका क्रममा उनीहरुले ६ महिनामा पनि ओली नेतृत्वको सरकारले जनतालाई कुनैपनि सेवा दिने काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेका थिए ।
यसअघि यातायात व्यवसायीले दशैँका लागि टिकट बिक्री खुल्ला नगर्ने अडान लिएपछि सरकारले सवारी साधनको भाडादर आइतबारबाट १० प्रतिशत वृद्धि गरेको थियो ।
यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई देखाउँदै भाडा वृद्धिको माग अगाडि सारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया