उपराष्ट्रपति पुन भोली स्वदेश फिर्ता हुँदै

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ चीनको छ दिने औपचारिक भ्रमण सकेर भोली (सोमबार) स्वदेश फर्कदै छन् । एयर चाइनाको विमानबाट सोमबार विहान ९ः४५ बजे उपराष्ट्रपति  पुन काठमाडौं पुग्ने छन् । उपराष्ट्रपति छ दिने भ्रमणका लागि असोज ३ गते छेन्दु आई पुगेका थिए ।  

उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र बेल्ट एण्ड रोड सम्बद्ध मुलुकहरुको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गर्नु भएको थियो । संबोधनको क्रममा उहाँले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीहरुलाई अपिल गरेका थिए ।  

चीन भ्रमणको क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङहुवाले शिष्टाचार भेट गरेका थिए । उपराष्ट्रपतिले असोज ३ गते उपप्रधानमन्त्री र असोज ५ गते सिपिसीका सिचुवान प्रान्त सचिवसँगको भेटमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरिरहेको बताएका थिए । उनले नेपाल समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्दै लगानी तथा सहकार्यका लागि आग्रह गरेका थिए । भेटघाटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने नेपालको प्रतिबद्धता दोहो–याएका थिए । 

उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री र सिपिसीका प्रान्त सचिवले नेपाल चीन सम्बन्ध परम्परागत सम्बन्धबाट नयाँ उचाईमा उठेको बताएका थिए । उनीहरुले नेपालको समृद्धिको यात्रामा चीनका सदैव साथ सहयोग हुने बताएका थिए । सिपिसीका सिचुवान प्रान्त सचिवले छेन्दुमा छिटो भन्दा छिटो नेपालले महावाणिज्य दुतावास खोल्नुपर्ने बताएका थिए । 

उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा शनिबार केही दिन पोखरासँग भगेनी सम्बन्धमा गाँसिएको यिपिन सहर र आईतबार लुुम्बीनीसँग भगेनी सम्बन्ध रहेको लसानको भ्रमण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?