पल शाहसँग सधैभरी साथ हुन पाइयोस्: आँचल शर्मा

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एउटा रमाइलो के छ भने फिल्मका कलाकार कामका हिसाबले भन्दा पनि व्यक्तिगत हिसाबले चर्चामा आउँछन् । पल शाह र आँचल शर्माले केही सिनेमा पनि खेले तर ती फिल्म सफल हुन सकेनन् । ‘शत्रु गते’ भने विविध कारणले चल्यो । पल र आँचल अभिनित फिल्ममा चलेको फिल्म भन्न मिल्छ यसलाई ।

तर, यी दुईको प्रेमसम्बन्ध चलेको भन्ने कुराले चाहिँ सधै चर्चा पाइरहेको हुन्छ । शनिवार काठमाडौंमा आयोजित सुबिन भट्टराईको पुस्तक ‘प्रिय सुफी’ को विमोचन कार्यक्रममा आँचललाई सोधियो – तपाईंको प्रिय मान्छे को हुनुहुन्छ?

उनले पहिले पललाई जोड्न खोजिनन् । भनिन् – 'मेरो पहिले प्रिय साथी मेरो बुबा हो, उहाँले मलाई हरेक कुरामा साथ दिइरहनुभएको छ ।'

त्यसपछि फेरि सोधियो – तपाईंका फ्यान जान्न चाहन्छन्, उसोभए दोस्रो प्रिय मान्छे को हुनुहुन्छ?

यतिबेला भने आँचल मुसुक्क हाँसिन् । एकछिन रोकिइन् र भनिन् – ‘इन्डस्ट्रीको कुरा गर्ने हो भने पल जी नै हुनुहुन्छ, मैले यदि कोही भेटेँ भने विना स्वार्थ सहयोग गर्ने उहाँ नै हो ।’

यसो भन्दा दर्शकले ताली बजाए । साथै उनले स्टेजबाटै पललाई मिल्ने र विना स्वार्थका साथी भन्दै तारिफ गरिन् । भनिन्, ‘म यही भन्छु कि, उहाँ मेरो प्रिय साथी हुनुहुन्छ, उहाँसँग सधै फ्रेन्ड फरएभर भएर रहन पाइयोस् ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?