सभामुख महरा र साउदी कार्यवाहक राजदूत अब्दुलबीच भेटवार्ता

काठमाडौं । सभामुख कृष्णबहादुर महरा र नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुखको सचिवालय सिंहदरबारमा शुक्रबार (आज) उनीहरुको भेटवार्ता भएको हो ।

भेटका अवसरमा सभामुख महराले साउदी अरब र नेपालको कूटनीतिक सम्बन्ध सुमधूर रहेको बताए  साउदी अरबको ८८ औँ राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै सभामुख महराले आगामी दिनमा नेपाल र साउदी अरबबीच अझैं प्रगाढ सम्बन्ध विस्तार हुनेमा विश्वास व्यक्त गरे ।

‘नेपाल र साउदी अरबको कूटनीतिक सम्बन्ध सुमधूर र बलियो रहेको छ, उनले भने, ‘हाम्रो औपचारिक सम्बन्ध मात्रै नभई जनस्तरबाट पनि दुई देशबीच बलियो सम्बन्ध रहेको छ ।’ 

राजनीतिक र कूटनीतिक स्तरमा मात्रै नभई जनस्तरमा पनि दुई देशको सम्बन्ध रहेको चर्चा गर्दै सभामुख महराले नेपालका लाखौं नागरिकहरु साउदी अरबको श्रम बजारमा रोजगारीका लागि पुगेको बताए । 

‘अहिले नेपालका लाखौं नागरिकहरु रोजगारीका लागि साउदी अरबमा पुगेका छन्, सभामुख महराले भन्नुभयो, ‘साउदी अरबमा नेपाली नागरिकहरुको पेशागत तथा भौतिक सुरक्षा जस्ता सवाल हाम्रो चासोका विषयहरु हुन्, यसमा साउदी अरब सरकारले विशेष ध्यान दिनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

भेटमा नेपालस्थित साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले साउदी अरब र नेपालको सम्बन्ध मजबुत रहेकोमा खुसी व्यक्त गरे ।

उनले वैदेशिक रोजगारीका लागि आफ्नो देशमा पुगेका नागरिकहरुलाई साउदी अरब सरकारले सुरक्षामा विशेष ध्यान दिने बताए । 

यहीँ सेप्टेम्बर २३ मा साउदी अरबको ८८ औँ राष्ट्रिय दिवस काठमाडौंमा पनि विशेष समारोहका बीच मनाउन लागिएको बताउँदै अब्दुलकरिमले उक्त समारोहमा आतिथ्यताका लागि सभामुख महरालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?