हिमालय एअरलाइन्सद्वारा सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक

लोकपथ
28
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक गरेको छ । काठमाडौंस्थित होटल र्‍याडिसनमा आयोजित बुधबार पत्रकार सम्मेलनमार्फत् महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै एअरलाइन्सले सुरक्षित र दिगो हवाई यातायात उद्योगको भविष्यको बृद्धिलाई टेवा पुर्‍याउने कार्यमा मद्दत गर्न सम्बन्धित सबै सरोकारवालाहरूसँग निकट सम्बन्ध स्थापित गर्न चाहेको जनाएको छ ।

आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्‍याउने खालका कार्यहरू पनि जारी राखेको जनाएको छ । हिमालय एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वला दली र एअरलाइन्स्का मैन्टीनेन्स एण्ड इन्जिनेरिङ्ग विभागीय प्रमुख श्री राजेशप्रसाद श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतको वृहत् भेलामा कम्पनीको उक्त प्रतिवेदन सार्वजनिक गरे ।

पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्सको सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने एउटा संक्षिप्त भिडियो पनि प्रसारण गरिएको थियो । प्रतिवेदन विमोचनमा एअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वला दलीले भनिन्, ‘कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्‍याे नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे ।’

उनले चुनौतिपूर्ण घडीमा सबै सीमा र सीमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रहेको बताइन् । पत्रकार सम्मेलनमा इन्जिनेरिङ्ग विभागीय प्रमुख श्री राजेशप्रसाद श्रेष्ठले व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध रहेको बताए ।

सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझै बढी महत्वपूर्ण भएको स्वीकार गर्दै हिमालयले अग्रगामी रुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा १० लाख रूपैयाँ, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भएको प्रतिवेदनमा उल्लेख छ ।

हिमालय एअरलाइन्स्ले नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २ लाख डोज ल्याउन २ करोड २५ लाख रूपैयाँ बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेको जनाएको छ ।

एअरलाइन्स्ले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैर–सरकारी संस्था “प्रयास नेपाल” लाई पनि साथ दिंदै आएको जनाएको छ । त्यस्तै, “शिक्षातर्फका पाइलाहरू” कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

एअरलाइन्सले कार्यसम्पादन र कम्पनीको सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै यसका पाँच प्रमुख क्षेत्रहरूको सन्दर्भमा एक वृहत् दृष्टिकोण सार्वजनिक गरेको छ । आर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान, जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?