व्यापारी धम्काउने तीन युवाको बयान, ‘दलालले ठगेपछि अपराधमा लाग्यौं’

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा राजधानी काठमाडौं भित्रिएका तीन युवाले दलालबाट ठगिएपछि अपराध धन्दा शुरु गरेको बताएका छन् । 

उनीहरुले दलालहरुबाट ठगिएपछि वैदेशिक रोजगारीको सपना त्यागेर अपराधको कर्ममा लागेको बयान प्रहरीलाई दिएका हुन् । 

नक्कली पेस्तोल देखाएर चाबहिल चुच्चेपाटी क्षेत्रका स्थानीय व्यापारीलाई धम्काएको आरोपमा पक्राउ परेका तीनजना युवाले यस्तो बयान दिएका हुन् । 

पक्राउ पर्नेहरुमा इलाम माइ नगरपालिकाका २३ वर्षीय संजय समाल मगर, मोरङ पाथीभराका २४ वर्षीय सन्तोष लिम्बु र झापा सताक्षीका २४ वर्षीय युगेश राई रहेका छन् । 

आइतवार राति शंकास्पद गतिविधि देखाई सडकमा हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ३० ग्राम खैरो हिरोइन, २० हजार नगद र एकथान नक्कली पेस्तोल बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?