जहाज उडाउने वायुसेवा निगममा व्यवस्थापकीय ‘जुधार्इ’

काठमाडाैं : राष्ट्रिय ध्वजावाहक बिमान उडाउने नेपाल वायुसेवा निगम (एनएसी) व्यवस्थापकीय जुधार्इमा फसेको छ । 

एनएसीमा सुधारको काम गरिरहेका भनिएका महाप्रबन्धक सुगतरत्न कंसाकारलार्इ अप्ठ्यारोमा पार्नेगरि नयाँ नियुक्ति भएपछि निगममा नयाँ 'टकराव' शुरू भएको हो । 

अार्इतबार रातीसम्म बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री केपी अोलीको गृहजिल्ला झापाका मदन खरेललार्इ कार्यकारी अध्यक्ष नियुक्त गरेको छ । पछिल्लो नियुक्तिसँगै महाप्रबन्धक कंसाकारले निगम सुधार्ने अाफ्नो दायरालार्इ सरकारले खुम्च्यार्इदिएको अाशय व्यक्त गरेका छन् । 

''मैले निगमलार्इ सुधार्न खोजेँ, तर केही व्यक्तिहरूलार्इ पचेन,'' कंसाकारले भने ''अब नयाँ हाकिमले काम गर्लान्, म चाहिँ ८ महिनासम्म अारामका साथ जागिर मात्र खाने मनस्थितिमा छु ।'' महाप्रबन्धकको राजीनामाकै अपेक्षासहित नयाँ नियुक्ति गरेको सरकारलार्इ कंसाकारको जवाफ भारी पर्ने देखिएको छ । 

एनएसी स्रोतका अनुसार, अधिकांश कर्मचारी कंसाकारकै पक्षमा रहेको र सत्ताधारी पार्टीका केही मन्त्रीसँग समेत विमान खरिद प्रकरणमा नाम जोडिएका कारण नवनियुक्त कार्यकारी अध्यक्ष खरेलले सोचेजसरी कार्यसम्पादन गर्न गाह्रो पर्ने देखिएको छ । 

''नयाँ कार्यकारी अध्यक्षज्यूको भूमीका सुविधाको गाडी चढेर घर-अफिस गर्ने एवं प्रधानमन्त्रीसामु कर्मचारीको असहयोगका कारण काम गर्न नसकिएको गुनासो गर्ने भन्दा अरू नहुन सक्छ,'' एनएसीका एक अधिकारीले भने ''नयाँ नियुक्तिपछि कंसाकारले राजीनामा दिने कि नदिने भन्नेबारे छलफल हुँदा कंसाकारकै पक्षमा कर्मचारीहरूको जुन जब्बर एकता देखियो, खरेलका लागि यो निकै भारी पर्ने देखिन्छ ।'' 

कंसाकारले पनि राजीनामाबारे कर्मचारीहरूसँग कुरा गरेको, तर तत्काल राजीनामा दिँदा नराम्रो सन्देश जाने हुनाले कर्मचारीहरूको र्इच्छाबमोजिम अाफ्नो कार्यकाल पुरा गर्ने योजना रहेको बताएका छन् । 

कार्यकारी अध्यक्षमा नियुक्त खरेल पनि यसअघि नै एनएसी छिरिसकेका व्यक्ति हुन् । वि.सं. २०७० सालमा महाप्रबन्धक भएका खरेलले त्रिशंकु सरकार गठन र विघटनका कारण त्यही साल राजीनामा दिएका थिए । 

शुक्रबारमात्रै निगमको सञ्चालक समिति सदस्य पदमा नियुक्त भएका खरेल त्यसको २ दिनभित्रै कार्यकारी अध्यक्षमा पदोन्नती भएका हुन् । 

महाप्रबन्धक कंसाकारलार्इ २४ अर्ब रूपैयाँमा वार्इडबडी विमान खरिद गर्दा अनियमितता गरेको र बजार विस्ता गर्न नसकेको अारोप लागिरहेको छ । यो अारोप पर्यटनमन्त्री रवीन्द्र अधिकारीले समेत खेपिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?