मौलिक हक विधेयक : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले मौलिक हकसम्बन्धी चार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’, सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गरेको ‘जातीय भेद्भाव तथा छुवाछुत(कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरिएको हो । 

सांसद ठगेन्द्रप्रकाश पुरी, हरिचरण शिवाकोटी, खेमराज नेपाली, कालीबहादुर मल्ल, चक्रप्रसाद स्नेहीलगायतले मौलिक हकसम्बन्धी विधेयकलाई समृद्ध र परिष्कृत बनाउन आग्रह गरेको थियो ।

त्यसअघि सांसद मल्लले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सांसद वृषेशचन्द्र लालले समर्थन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?