नेता र जनताले सङ्घीयता बुझेनन् : महामन्त्री कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेता र जनताले सङ्घीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । 

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए । उनले भने, “सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।” 

एक÷दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उनले बताए । महामन्त्री कोइरालाले काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको बताए । उनले भने, “सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भने । काँग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ ।” 

समृद्ध राष्ट्र बनाउने अभियानमा काङ्ग्रेस पहिलेदेखि नै लागिरहेको भन्दै उनले सरकारका समृृद्धिका योजनामा आफ्नो पार्टीको सहयोग रहँदैआएको बताए । 

फरक प्रसङ्गमा उनले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताए । पार्टीभित्र केही मतभेद रहेपनि त्यसको उचित व्यवस्थापन गरी एकढिक्का भएर जाने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?