श्रृङखलावद्ध अपहरण घटनामा संलग्न श्रेष्ठ पक्राउ

काठमाडौं । ठेक्काममा दिएको निजी निवासको निर्माण सम्पन्न भइसकेपछि बाँकी रकम माग्न जाँदा उल्टै ठेकेदारलाई अपहरण गरि फरार भएका सिन्धुली कमलामाईका पुष्प श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

अभियुक्त श्रेष्ठले आफ्नो घर निर्माणको ठेक्का दिएका ओखलढुङ्गा सिद्धिचरण घर भई हाल धुम्बाराही बस्ने राम बहादुर कटुवाललाई अपहरण गरी बाँकी रहेको रकम नमाग्ने शर्तमा रिहा गरेका थिए । 

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, पीडित कटुवालले अभियुक्त श्रेष्ठ विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर अभियोगमा कानूनी कारबाहीको माग गरी पाउँ जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको हो । 

यसअघि पनि अभियुक्त श्रेष्ठले सिन्धुली कमलामाई घर भई हाल मैतिदेबी बस्ने रमेश कुमार कुँवरलाई चक्रपथ स्थित ईन्द्रेणी फास्टफुड अगाडी बोलाई अपहरण शैलीमा गणेशबस्ती स्थित सुक्रराज तामाङको डेरा कोठामा पु–याई बन्धक बनाएका थिए । 

पीडित कुँवरको साथमा रहेको ५० हजार नगद सुनको औँठी, हिरा जडित औँठी, मोबाईल, प्राईम बैंकको चेक थान १, कुल बहादुर थापाको नाममा ११ लाखको चेक झिक्ने क्रममा कुँवर भाग्न सफल भएका थिए । 

पीडित कुँवरको अपहरणमा संलग्न मुख्य योजनाकार पनि श्रेष्ठ नै रहेको पाइएको छ । सोही घटनामा संलग्न भोजपुर छिनामखुका नबिन कुमार राई, दाङ सैघाका कोमानन्द खड्का, दाङ बंगलाचुलीका सरु के.सी. भन्ने आषिका परियार, रामेछाप गौश्वराका कुबिन थापा भन्ने कोल बहादुर थापामगर, नुवाकोट गेर्खुका सुक्रराज तामाङ फरार छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?