प्रचण्डले भने, गोर्खा सैनिकका माग सम्बोधनको पहल हुन्छ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ब्रिटिश गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाएका छन् ।

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक र उनका परिवारलाई ‘वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता तथा पूँजी पलायन’ विषयक कार्यशालालाई आज यहाँ सम्बोधन गर्दै उनले बेलायतमा रहेका गोर्खा सैनिकलाई दिइने सुविधा तथा नागरिकताको निरन्तरताको मागलाई सम्बोधन गर्न प्रयास गर्ने बताए ।

“वंशजका आधारमा प्राप्त गरेको नागरिकतालाई खोस्ने भन्ने विषय नेपालको संविधानमा व्यवस्था छैन, तपाईहरु नेपाली नागरिक नै हो । तपाईहरुको मागका विषयमा सरकारले सम्बोधन गर्छ”, अध्यक्ष दाहालले भने ।

राष्ट्रियताका आधारमा ब्रिटिस सैनिक नेपाली भएको र नागरिकतासमेत वंशजका आधारमा नेपाली नागरिक नै भएकाले कानूनी तथा संवैधानिक विषयमा धेरै समस्या नभएको उल्लेख गरे ।

उनले भने, “यो पूर्व सैनिकको मात्रै नभई नेपालको चासो हो । सन् १९४७ को नेपाल, भारत र बेलायतको सहमतिअनुसार पनि बेलायती सैनिक र नेपाली सैनिकका बीचमा समानताको अधिकार स्थापित गरेको भए पनि केही अधिकारमा कमी भएको भन्ने गुनासो क्रमशः सम्बोधन भएको तथा केही अझै पनि प्राप्त गर्न बाँकी रहेको देखिएको छ ।” 

साथै उनले बेलायती सेनामा कार्यरत ब्रिटिश गौर्खा सैनिकको अलगअलग परिभाषा नगरिँदासमेत समस्या देखिएको भन्दै उनले त्यसलाई थप स्पष्ट पारिने उल्लेख गरे । “यो विषय पूर्वसैनिकको पहिचान र अधिकार मात्रै नभएर नेपालको राष्ट्रियता, सार्वभौमसत्ताको विषय हो । मैले पनि बेलायत सरकारका उच्च अधिकारीसँग यस विषयमा छलफल गरेको थिए । त्यसलाई थप स्पष्ट पार्नु जरुरी छ ।” , उनले भने ।

उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सबै हकअधिकार दिने व्यवस्था गरिएको भन्दै उनले ब्रिटिश गोर्खा सैनिकलाई पनि अधिकार सम्पन्न बनाउन प्रयन्तशील रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?