काठमाडौँ । काठमाडौँमा मेयर विद्यासुन्दर शाक्यले निर्वाचनका बेला घोषणा गरेको ‘एक सय दिनका एक सय काम’ मा काठमाडौंमा मोनोरेल निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको थियो । उनले आफ्नै कार्यकालमा काठमाडौँबासीले मोनोरेल चढ्ने सपना पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्न गरेका छन् । उनको सो प्रतिवद्धताले मूर्त रुप प्राप्त गर्ने संकेत गरेको छ ।
गत जेठ ११ गते ६ महिना भित्र प्रारम्भीक प्रतिवेदन बुझाउने भन्दै चाइनाको चाइना रेलवेय २५ औँ व्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसीसी) कम्पनीले काठमाडौँ र ललितपुर महानगरपालिकासँग काठमाडौँको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो । सम्झौत गरेको चार पनि नपुग्दै सिआरसीसीले आज सोको प्रतिवेदन बुझाएपछि काठमाडौँबासीको मोनोरेल चढ्ने सपना पूरा हुने संकेत देखिएको हो । चक्रपथमा मोनोरेल निर्माणका लागि करिब एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन सो कम्पनीले दुबै महानगरपालिकाका मेयरलाई हस्तान्तरण गरेको हो ।
प्रतिवेदनमा मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको बताइएको छ । कम्पनीले सबै हिसावले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ । चिनिया कम्पनीले दुबै महानगरपालिकाले निर्माणका लागि सहमति दिए आफूहरु डीपीआरका लागि तयार रहेको पनि जानकारी दिएको छ । सो कम्पनीका इण्टरनेशनल म्यानेजर झावो सिवावोले पनि आफूहरु चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको जानकारी दिए । उनले जतिसक्दो छिटो निर्णय दिए आफूहरुले डीपीआर शुरु गर्ने पनि जानकारी दिए ।
प्रतिवेदन ग्रहण गरेपछि काठमाडौँका मेयर शाक्यले आफ्नै कार्यकालमा काठमाडौँवासीको मोनोरेल चढ्ने सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै चिनिया कम्पनीले सम्झौता गरेको समयसीमा भित्रै प्रतिवेदन बुझाएकोमा खुशी व्यक्त गरे । ‘यो प्रतिवेदनको दुबै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्नेछौँ,’ काठमाडौँका मेयर शाक्यले भन्नुभयो, ‘हामीले उचित ठान्यौँ भने केन्द्र र प्रदेश सरकारसँग पनि कुराकानी गरेर काम अघि बढाउने छौँ ।’ उनले काम शुरु गरेपछि पछि फर्किनु नपरोस भन्ने आफ्नो पनि चाहना रहेको बताए । ‘हामीले मोनोरेल चढेर विदा हुन्छौँ भनेको छौँ,’ उनले भने, ‘तपाईँहरुले एकै चरणमा काम गर्न नसक्ने अवस्था आयो भने बरु दुई–तीन चरणमा भए पनि काम गर्न सक्ने सम्भावना हुन्छ । हामी छिमेकी नगरपालिकासँग पनि यो विषयमा छलफल गछौँ ।’
सिआरसीसीले पनि पहिलो चरणमा कोटेश्वरलेखि कलंकीसम्म, दोस्रो चरणमा कलंकीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ । सिआरसीसीले डीपीआर सुरु गरेको ६ महिना भित्र प्रतिवेशन बुझाउने र काम कम सुरु गरेको तीन वर्ष भित्रमा सम्पन्न गर्ने पनि जानकारी दिएको छ । कुल २७ दशमलब ५ किलोमिटरको चक्रपथमा सो कम्पनीले करिब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने पनि प्रतिवेशनमा उल्लेख गरेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जनले पनि चिनियाँ कम्पनीसँग काम गर्न आफूहरु इच्छुक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया