रुपन्देहीमा दुर्घटनाबाट ९४ जनाले ज्यान गुमाए

लोकपथ
567
Shares

भैरहवा । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना र मृतकको संख्या घट्न सकेको छैन ।

चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारबाही, आफू बचौं अरुलाई बचाऔं, ट्रिपर हाइवा चेकजाँचका लागि टेंगो होटल, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनि प्रदूषण गर्नेलाई कारबाही, छाडा पशु र सवारीसाधनमा रिफलेक्टरलगायतका अभियान रुपन्देही ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आए पनि एक वर्षमा १७२ वटा दुर्घटना भएको छ । जसकारण ९४ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यो तथ्यांक गत वर्षभन्दा बढी हो । वर्ष २०७७/७८ मा १६२ वटा दुर्घटना हुँदा ८२ जनाको ज्यान गएको थियो । अधिकांश दुर्घटना बेलुका ६ बजेपछि मध्यरात १२ बजेको समयमा हुने गरेको कार्यालयले जनाएको छ ।

१७२ मध्ये सो समयमा ७२ वटा, दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ५२ वटा र बिहान ६ देखि दिउँसो १२ बजेसम्म ३१ वटा दुर्घटना भएका छन् । सडकमा गुड्ने होस् या रोकिएको सवारीसाधनको व्यवस्थापन गर्नेदेखि लिएर सवारीसाधनको चेकजाँच गर्ने मुख्य काम ट्राफिक प्रहरीको हो ।

तथ्यांकअनुसार आव २०७६/७७ देखि २०७८/७९ सम्म ५२८ वटा दुर्घटना भएको छ । जसमध्ये चालकको लापरबाहीका कारण मात्रै २४९, यात्रुको गल्तीबाट १४८ र तीव्र गतिबाट ३०० वटा दुर्घटना भएको छ । दुर्घटना हुनेमा अधिकांश मोटरसाइकल छन् ।

दुर्घटनामा ४५४ वटा मोटरसाइकल संलग्न छन् भने हलुका सवारीसाधन कार, जीप ६९ र ट्यांकर तथा ट्रक ७४, टिपर २५, बस ३४, ट्याक्टर ३७ र रिक्सा ४४ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए । पछिल्लो समय बढ्दो सवारी चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बाक्ने,सडक निर्माणको अवस्था, मौसमका कारण, जीर्ण सडक र हरेक वर्ष सवारीसाधनको संख्या वृद्धि हुँदै जानुले दुर्घटना बढ्दै गएको केसीले बताए ।

‘दुर्घटना तथा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न कार्य गर्दै आए पनि सडक सञ्जाल बिस्तारसँगै ट्राफिक नियम उल्लंघन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तीव्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ,’ उनले भने चालकको गल्तीका कारण धेरै सवारी दुर्घटना भएको अनुसन्धानले देखाएको छ ।

तीव्र गति (स्पिड) का कारण मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, ओभरटेक गर्दा, यान्त्रिक गढबढी (ब्रेकफेल, स्टेयरिङ फेल) जस्ता कारण, यात्रुको गल्तीका कारण, सडक चौपाया र सडकको अवस्थाका कारणले पनि दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गतवर्ष तीव्र गतिका कारण १५२ वटा दुर्घटना हुँदा चालकको लापरबाहीले नौ दुर्घटना भएको थियो । यात्रुको गल्तीले तीन र यान्त्रिक गडवडीले दुईवटा दुर्घटना भएको थियो । गत आर्थिक वर्षमा कार्यालयका अनुसार एक सय ४८ मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका थिए ।

सवारी दुर्घटना हुँदा घाइतेको संख्यामा पनि वृद्धि भएको छ । २०७६/०७७ मा १९४ वटा सवारी दुर्घटना हुँदा ८० जनाको मृत्यु, ७८ जना गम्भीर घाइते र ११५ जना साधारण घाइते भएका थिए । २०७७/७८ मा १६२ वटा दुर्घटनाबाट ८२ जनाको मृत्यु, १ सय १६ जना गम्भीर घाइते, ६८ जना साधारण घाइते भएका छन् । आर्थिक वर्ष ०७८/७९ मा १७२ वटा दुर्घटना हुँदा ९४ जनाको मृत्यु, १७१ जना गम्भीर घाइते र ५९ जना साधारण घाइते भएका छन् ।

अहिले स्थानीय र व्यवसायीलाई आफ्नै घर तथा व्यापारिक प्रतिष्ठान अगाडि पार्किङ गर्ने मानसिकताका कारण समस्या देखिँदै आएको छ । ठेला गाडादेखि, रिक्सा, इरिक्सा साइकल, मोटरसाइकल, कार, बस, मालबाहक ट्रक, जिप, भ्यान सबैको व्यवस्थापन मात्र नभई सडकमा हिड्ने पैदलयात्रुहरूको व्यवस्थापनसमेत ट्राफिक प्रहरीले गर्नुपर्ने र आफूहरूसँग सीमित साधन स्रोत, जनशक्तिकै प्रयोगले काम गर्दै आएको कार्यालयले जनाएको छ ।

छाडा चौपाया र पार्किङ व्यवस्थापन चुनौती

रूपन्देहीको मुख्य बजारहरूमा प्रमुख समस्याका रूपमा छाडा चौपाया र पार्किंङको ब्यवस्थापन रहेको देखिएको छ । चौपायालाई सडकतिर छाडेकाले पनि दुर्घटना बढ्ने गरेको छ ।

त्यस्तै, नगर क्षेत्रभित्र पार्किंङस्थलको अभावले चुनौती उत्पन्न भइरहेको छ । यी दुवै समस्यालाई पालिकाले समन्वय गरी समाधान गर्न सकिए पनि पालिकहरूले पनि चासो दिएका छैनन् ।

निश्चित ठाउँमा पार्किङको व्यवस्था गर्ने, छाडा चौपायालाई निश्चित ठाउँमा लैजाने, व्यावसायिक प्रतिष्ठान अगाडि पार्किङ अनिवार्य गर्ने मापदण्ड बनाउनुपर्ने, सडक तथा पेटी अतिक्रमण रोक्नुपर्ने, छाडा चौपायाको धनीलाई पहिचान गरी कारबाही गर्नुपर्नेलगायतका काम पालिकाले गरे मात्रै पनि दुर्घटना केही हदसम्म कमी आउने सरोकारवालाहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?