गुर्जामा जुवातास, धुमपान सेवन गर्न प्रतिबन्ध

लोकपथ
35
Shares

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँड, रक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

“तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलोपटक सम्झाइबुझाई, दोस्रोपटक रु १०० र तेस्रोपटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौँ”, उनले भने, “जरिवानाबाट सङ्कलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाइ गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौँ ।”

घरेलु हिंसा, विवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडाध्यक्ष छन्त्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?