काठमाडाैं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ अाैं महाधिवेश कात्तिक १६ गतेदेखि शुरू हुने भएको छ ।
सोमबार बसेको नेविसंघ बैठकले महाधिवेशन मितिबारे टुंगो लगाएपनि महाधिवेश गर्ने स्थानबारे पार्टीसँग सल्लाह गरेर टुंग्याउने अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।
तिहारको छेकोमै मिति तोकिएको महाधिवेशन फेरि सर्न सक्ने अाशंका विद्यार्थी नेताहरूले गरेका छन् । अध्यक्ष महरले चाहि महाधिवेशन कुनै पनि अवस्थामा नसर्ने दाबी गरेका छन् ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक १९ गतेदेखि शुरू हुन्छ । तर नेविसंघले कात्तिक १८ मा सवै कार्यक्रम सम्पन्न गर्नेगरि महाधिवेशनको मिति तोकेको छ ।
सोमबार बसेको बैठकले केन्द्रीय समितिमा उठेका विषयवस्तु समेटेर भदाै २७ गतेभित्र संशोधित विधान नियमावली-२०७५ माउपार्टीलार्इ बुझाउने निर्णय गरेको छ ।
केन्द्रीय सदस्य सुशील भट्टका अनुसार विधान नियमावली पार्टीबाट अनुमोदन भएलगत्तै क्याम्पस र जिल्लातहको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । यस्तै, असोज ७ गते मावि र क्याम्पसहरूमा, असोज १२ गते सबै स्थानीयतहहरूमा, १५ गते निर्वाचन क्षेत्र र २१ गते ७७ वटै जिल्लाहरूमा अधिवेशन हुनेछ ।
यस्तै, असोज २३ गते काठमाडाैं उपत्यकाका क्याम्पसहरूमा र कात्तिक १० देखि ११ गतेसम्म ७ वटै प्रदेशमा नेविसंघको अधिवेशन सम्पन्न गर्ने कार्यक्रम छ ।
यसलगत्तै केन्द्रीय अध्यक्षले ३० जना महाधिवेशन प्रतिनीधिहरू मनोनयन गर्ने र सवै प्रतिनीधिहरूको नाम कात्तिक १३ गते प्रकाशित गर्ने नेविसंघले जनाएको छ । असोज १४ गते महाधिवेशन प्रतिनीधिहरूको नाममा दाबी विरोध गर्नका लागि समय दिने कार्यतालिकामा उल्लेख छ ।
कार्तिक १६ गते महाधिवेशनको उद्घाटन गर्ने र १७ गते बन्दसत्र शुरू गर्ने नेविसंघका अध्यक्ष महरले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया