गोरखा । गोरखाको उत्तरी नाकाबाट १० किलो सुन सहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेसँगै सुन तस्करीको नयाँ रुट पत्ता लागेको हो ।
तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी नाका चुमनुब्री गाउँपालिका छेकम्पारको ङुङ्ला हुँदै नेपालमा सुन तस्करी हुने गरेको पुष्टि भएको छ ।
चुम उपत्यकाबाट ङुङ्ला नाका पुग्न पैदल १० घण्टा हिँड्नु पर्छ ।
दश किलो सुनसहित शनिबार पक्राउ परेका दुई व्यक्तिलाई गोरखा सदरमुकाममा सार्वजनिक गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
पक्राउ परेकोमा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका ५८ वर्षका छिरिङ मुटुप लामा र २८ वर्षका लोप्चन तेन्बे रहेका छन् । उनीहरुलाई थप अनुसन्धनका लागि सदरमुकाम ल्याइएको प्रजिअ भट्टराई बताए ।
पक्राउ परेका व्यक्तिले हेलिकप्टरबाट सिधै काठमाडौंसम्म सुन तस्करी हुने गरेको खुलाएका छन् । हेलिकप्टरबाटसमेत सुन तस्करी हुने खुलेसँगै प्रशासनले जिल्लाको उत्तरी चुमनुब्री गाउँपालिकामा हुने हेलिकप्टर उडानमा एक महिनादेखि कडाइ गर्दै आएको प्रजिअ भट्टराई बताए ।
उनीहरुलाई चिनियाँ नागरिकले सुन काठमाडौं पु–याएवापत ५० हजार रुपैयाँ दिने बताएको प्रहरी प्रमुख एसपी विमल बस्नेतले जानकारी दिए । उनीहरु भरीया मात्रै हुन् वा सुन तस्कर हुन् भन्ने खुल्न बाँकी रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया