बागमती प्रदेशसभा बैठक साउन ५ मा बस्दै

लोकपथ
21
Shares

मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा बैठक आगामी ५ साउनमा बस्ने भएको छ । प्रदेश सचिवालयका अनुसार बागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार बस्ने भएको हो ।

बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले २६ औं बैठक साउन ५ गते दिउँसो १ बजे बस्ने निर्णय गरेको प्रदेश सचिवालयले जनाएको छ । यसअघि,२९ असारमा बसेको प्रदेश सभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गर्दै बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो ।

सो बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसदहरूले श्रीलंकामा चरम आर्थिक समस्या भएको उल्लेख गर्दै नेपाललाई आर्थिक मन्दीबाट बचाउने ध्यानाकर्षण गराएका थिए ।

बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ लाई स्वीकृति प्रदान गरेको थियो ।

त्यस्तै, ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?