सेयर बजारका लागि आ.व २०७८/७९ : ऐतिहासिक रेकर्डदेखि आमरण अनसनसम्म, आगामी यात्रा कस्तो रहला ?

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा सेयर बजारमा व्यापक उतारचढाव देखियो । यस वर्ष सेयर बजारले ऐतिहासिक बिन्दु चुम्यो भने यसै वर्ष बजारले वियरिसको पनि सामना गर्नुपर्यो । गत आर्थिक पहिलो दिन हरियाली भएर खुलेको बजार अन्तिम दिन पनि सकारात्मक नै देखियो ।

तर, लगानीकर्ताहरुले यस वर्षभरी नै सेयर बजारमा धेरै नै उतारचढाव भोग्नुपर्यो । गत भदौ २ गते नेप्से सूचक हालसम्मकै उच्च बिन्दु (३१९८)सम्म पुगेको थियो । इन्ट्रा कारोबार डे मा भने ३२०० बिन्दु नाघेको थियो । गत आर्थिक वर्षमै सेयर बजार सो वर्षकै न्यून बिन्दु १८०६ सम्म झरेको थियो । यस कारोबार दिन घटेर शुक्रबारसम्ममा २००९.४७ बिन्दुमा झरेको छ । बजारले नयाँ रेकर्ड बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँभन्दा धेरै पुगेको थियो । त्यस्तै, कारोबार रकम पनि एकैदिन झन्डै २२ अर्ब रुपैयाँ पुगेर सेयर बजारले रेकर्ड बनायो । आर्थिक वर्ष २०७८/७९ सेयर बजारको लागि चुनौतीको वर्ष बन्यो ।

अर्थतन्त्रमा देखिएको अनेकौं समस्या, तरलता अभाव, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको धितोकर्जाको ४/१२ को सीमालगायत कुराहरुले सेयर बजारलाई प्रभावित पारिरह्यो । यस वर्ष लगानीकर्ताले झन्डै २० खर्ब गुमाएका छन् ।

गत आर्थिक वर्षमा सेयर बजार विस्तार र विकासका लागि भन्दै लगानीकर्ताहरुले आन्दोलन र आमरण अनसनसमेत बस्नुपर्यो । सेयर बजारका विषयले गत आर्थिक वर्ष सडकदेखि सदनसम्म ततायो ।

आर्थिक वर्ष २०७८/०७९ मा सेयर बजारमा लगानीकर्ताको संख्याले पनि नयाँ रेकर्ड नै राख्यो । यस वर्ष सेयर बजारमा लगानीकर्ताको संख्या ५२ लाख ५० हजार नाघे । त्यस्तै, मेरो सेयर प्रयोगकर्ताको संख्या ४३ लाख ६८ हजार पुगे । यसरी हेर्ने हो भने गत आर्थिक वर्ष सेयर बजारका लागि अविस्मरणीय वर्षको रुपमा रह्यो । त्यस्तै, बजार पुँजीकारण, दैनिक कारोबार रकमका हिसाबले हेर्दा पनि ऐतिहासिक र गुमाउने हिसाबले हेर्दा पनि ऐतिहासिक नै रह्यो ।

अब सेयर बजार कता जाला ?

नेपाली सेयर बजार अहिले लगानीकर्ता मैत्री नरहेको भन्दै लगानीकर्ताले आवाज उठाउँदै आइरहेका छन् । नियामक निकायले सेयर बजारमैत्री नीति ल्याएको खण्डमा भने यो वर्ष (२०७९/०८०) मा सेयर बजार लयमा फर्कने लगानीकर्ताहरु बताउँछन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड अहिले लगानीकर्ताको माग सम्बोधन गर्न हरप्रयास गरिरहेको छ । जसका कारण सेयर बजारको आगामी यात्रा सुखद रहने लगानीकर्ताको बुझाई छ ।

बजार उकालो लाग्ने लागि सरकार तथा नियामक निकायहरुबाट सकारात्मक नीति ल्याउनुपर्ने स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष तथा लगानीकर्ता रोहन कार्की बताउँछन् । लोकपथसँग कुरा गर्दै रोहन कार्की भन्छन्, ‘बजार उकालो लाग्नको लागि नियामक निकायबाट सकारात्मक पोलिसीहरू ल्याउनुपर्छ । योभन्दा अगाडि बजारलाई तल ल्याउने कुरामा विशेष गरेर नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायबाट बजारलाई नियन्त्रणमा लिने काम गर्यो । यसले गर्दा आम लगानीकर्ताको मनोबलमा कमि आएको छ । यो अवस्थामा पुँजीबजार सुधार हुने, विस्तार गर्ने र आम लगानीकर्ताको विश्वास बढाउने काम नियामक निकायले गर्नुपर्छ ।’

लगानीकर्ताको मनोबल खस्किएकै कारण अधिकांश कम्पनीको सेयर मूल्य सस्तिँदा पनि लगानीकर्ताहरु किन्न आँट गरिरहेका छैनन् । सेयर बजारका लागि सरकार र नियामक निकायले राम्रो काम गरेमा सेयर बजार छिट्टै नै लयमा फर्कने कार्कीको भनाइ छ । उनी थप्छन्, ‘बजारलाई प्राकृतिक रुपमा चल्न दिएको भए बजारले आफ्नै बाटो तय गथ्र्यो । तर, सरकारले यो वर्ष नीतिमार्फत बिर्सनै नसक्ने गरी पीडा दिने काम गर्यो । त्यसले गर्दा यो वर्ष सेयर बजार लगानीकर्ताका लागि त्यति सुखद रहेन ।’

गत आर्थिक वर्षको सुरुवाती चरणमा सेयर बजार सकारात्मक देखिए पनि नियामक निकायले एकपछि अर्को गरेर लगातार बजारलाई हमला गर्यो जसको परिणाम स्वरुप आज बजार यो अवस्थामा छ ।

अहिलेको अवस्थामा लगानीकर्ता आफैं पनि संयमित हुनुपर्ने इन्भेष्टर फोरमका नविर्तमान अध्यक्ष छोटेलाल रौनीयार तथा सेयर लगानीकर्ता छोटेलाल रौनीयार बताउँछन् । हल्ला तथा अफवाहको भरमा लगानी नगर्न लगानीकर्तालाई उनको सुझाव छ ।

आगामी दिनमा धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गरेको खण्डमा सेयर बजारले गति लिने रोहन कार्की बताउँछन् । बोर्ड र नेपाल राष्ट्र बैंकले गर्नुपर्ने धेरै नीतिगत सुधारका कामहरु बाँकी नै रहेको औँल्याउँदै त्यस कामहरुलाई अगाडि बढाएमा सेयर बजारका लागि हित हुने उनको तर्क छ ।

त्यस्तै, गएको आर्थिक वर्ष सेयर बजारको लागि पीडादायी रहेको नेपाल पुँजीबजार विकास अभियानका संयोजक तथा लगानीकर्ता तिलक कोइराला बताउँछन् । गत आर्थिक वर्षमा सेयर बजारमा धेरै लगानीकर्ता प्रवेश गरेकोले संख्यात्मक हिसाबले पनि गुमाउने धेरै भएको उनको विश्लेषण रहेको छ । कतिपय नीतिगत अभाव, अस्थिरताका बीच पनि लगानीकर्ताहरुबाट भएका अस्वस्थ खेलहरुका कारण पनि पुँजी बजार मारमा परेको उनको ठम्याई छ ।

गत आर्थिक वर्षमा लगानीको वातावरण बिग्रिएर गएकोले लगानीकर्ताहरु सेयर बजारप्रति निराश भएका छन् भने कतीपय लगानीकर्ताहरु डिप्रेशनमा समेत गएको लगानीकर्ता तिलक कोइराला बताउँछन् ।

पुँजी बजार सुधारका लागि केही नीतिगत सुधार, नीति नियम र पूर्वाधारको क्षेत्रमा केही महत्वपूणर् कामको सुरुवात भएको भन्दै आगामी दिन सकारात्मक बन्दै जाने कोइराला बताउँछन् ।

’गएको आर्थिक वर्षको अन्तमा भने धितोपत्र बोर्डले केहि पहलकदमी गरेको छ । लगानीकर्ताहरुको पहलमा केही नीतिगत सुधार, नीति नियम र पूर्वाधारको क्षेत्रमा केही महत्वपूणर् कामको सुरुवात भएको छ । त्यसले केही आशा जगाएर लगानीकर्तालाई बजारमा टिकाइराख्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ कोइरालाले भने ।

नीति नियम र पूर्वाधारको सहि बन्दोबस्ती र सहि कलाको नियमन भयो भने चाँहि आगामी वर्षहरुमा सेयर बजार सुरक्षित लगानी गर्ने ठाउँको रुपमा स्थापित हुने उनले बताए ।

सुरक्षित लगानी गर्ने पुँजी बजार बुझेका, आफ्नो जोखिम बहन गर्ने क्षमता बलियो भएका तथा लगानी रणनीति बनाएर मात्र सेयर बजारमा आउनेहरुको लागि राम्रै हुने उनको भनाइ छ ।

आगामी दिनहरुमा सेयर बजार सकारात्मक बन्दै जानेमा लगानीकर्ताहरु विश्वस्त छन् । सेयर बजार आफैंमा पनि लगानीकर्ताको मनोबलमा निहित हुने हुँदा लगानीकर्ताले मनोबल बलियो बनाएको खण्डमा सेयर बजार सकारात्मक हुने बुझाई सेयर विश्लेषकहरुको छ ।

अन्त्यमा, राज्य तथा नियामक निकायले सेयर बजार मात्र नीति ल्याउने, सेयर बजारको विकास र विस्तारका लागि सकारात्मक पहल चाल्ने हो भने सेयर बजारले यस आर्थकि वर्ष  २०७९/८० मा सेयर बजारले पुनस् ऐतहिासकि बिन्दु चुम्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?