काठमाडौं । पत्रकार तथा लेखक बसन्त बस्नेतको ७२ को विस्मय पुस्तक सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपालका प्रथम राष्टपति डा. रामवरण यादव, राष्टिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्टिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्बाङ र लेखकले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।
संविधान निर्माणका केही विधि र प्रक्रिया आफूलाई चित्त नबुझेको अवस्थामा समेत मधेसलगायत क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गरेको उनले बताए । उत्तर र दक्षिणमा ठूलाठूला देश रहेको र उनीहरुले प्रशस्त विकास गरे पनि नेपाल भने कहिले राजा र कहिले दलीय राजनीतिमै मात्र सीमित रहेकोप्रति उनले चिन्ता व्यक्त गरे । साथै संविधानमा रहेको गुनासा र असन्तुष्टि बिस्तारै सम्बोधन हुँदै जानेमा आफू आशावादी रहेको उनको धारणा छ ।
राष्टिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुस्तकले ७२ सालमा घटेका घटनाका विषयमा लेखकले तटस्थता प्रस्तुत गरेको बताए । साथै सोधअनुसन्धान गरेर पुस्तक तयार पारेको देखिने उनको भनाइ छ । मधेस आन्दोलनका समयमा घटनालाई यथार्थपूर्ण किसिमले प्रस्तुत गरिएको पनि उनको भनाइ छ । मधेसमा भएको भेदभावको विरुद्धमा आन्दोलन भएको र त्यसलाई पुस्तकले उजागर गरेको उनले बताए ।
मधेसमा अझै पनि असन्तोष र असन्तुष्टि व्याप्त रहेको र यी विषयको समाधान नभएसम्म कुनै पनि समयमा त्यो विस्फोट हुन सक्ने उनको भनाइ छ । संघीयता आइसकेपछि पनि प्रदेशमा अझै केन्द्र सरकारको मनोमानी भएको उनले बताए । सहिद, आन्दोलनका घाइतेका परिवारले अझै पनि राहत पाउन नसकेको उनले बताए । त्यसका लागि सरकारले संविधान संशोधन गरी यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । पुस्तकले मधेस आन्दोलनलगायत सबै पक्षका विचार समेटिएको पनि उनले बताए ।
अहिले पनि मधेस केन्द्रीय शासनको उपनिवेशमा रहेको उनले बताए । त्यसैले यसबाट मधेस र मधेसीले मुक्ति खोजिरहेको उनले बताए । लोकतन्त्रमा मधेसका जनताले गोली खानुपरेको अवस्था रहेको र यसबाट मधेसीहरुले उन्मुक्ति खोजेको उनको भनाइ छ ।
राष्टिय मानवअधिकार आयोगका प्रवक्ता अन्सारीले संविधान, नाकाबन्दी र भूकम्पको सेरोफेरोमा आधारित रहेर लेखिएको पुस्तकले तेस्रो मधेस आन्दोलनका तथ्यपूर्ण विषयलाई उजिल्याएको बताइन् । साथै आफूले दुईतीनपटक पुस्तक पढेकोसमेत उनको भनाइ छ । मधेसमा बस्ने जाति, समुदाय एवम् इतिहासको विषयमा बडो रोचक प्रस्तुति गरिएको उनले बताइन् ।
नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा। भट्टराईले लेखकले जोखिमयुक्त विषयमा कलम चलाएको बताए । यस्तो गहन र वर्जित विषयमा कसरी हात चलाए होलान् भन्ने लागेको समेत उनको भनाइ छ । यति ठूलो संघर्षबाट ल्याइएको संविधान नेपालको एउटा ठूलो तप्का त्यसप्रति असन्तुष्ट रहेको उनको धारणा छ ।
नेपालका जातीय, क्षेत्रीय, महिलाको क्षेत्रमा, पिछडिएका पक्षमा बोल्नेहरुलाई अझै पनि डलरवादीको आरोप लाग्ने गरेको उनले बताए । त्यसैले यस्ता विषयमा सबै संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । साथै लेखकले पुस्तकमा मधेस आन्दोलन, थारु आन्दोलन एवम् मुस्लिमहरुका विषयलाई समेत समेटेको उनले बताए । किताब पठनीय रहेको र धेरै तथ्यहरु यहाँ समेटिएको उनको भनाइ छ । साथै सबैलाई पुस्तक पढ्नसमेत उनले सुझाए । कार्यक्रममा उनले नेपालको विषयमा विषद् अध्ययन हुनुपर्नेमा समेत जोड दिए ।
नेपाल सबै किसिमको इन्द्रधनुषीको मिश्रणबाट बनेको देश भएको उनले बताए । नेपालमा दलित, उत्पीडित, दलित, जनजातिहरुका माग सम्बोधन नहुँदासम्म विकासको कल्पना गर्न नसकिने उनको भनाइ छ । त्यसैले उनीहरुका माग सम्बोधन गरेर संविधान सर्वस्वीकार्य बनाउनुपर्नेमा उनले जोड दिए । भारतले गरेको नाकाबन्दी कुनै पनि हालतमा राम्रो नरहेको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा आएका व्यक्तिलाई पनि संविधान निर्माणका समयमा आफूले यू आर टू लेट भनेर आफूले प्रतिक्रिया दिएको उनको स्पष्टोक्ति छ ।
लेखकले भूकम्प, नाकाबन्दी, संविधान र मधेस आन्दोलनका घटनालाई सजीव रुपमा चित्रण गरेको पनि उनले बताए । यी सबै विषयमा सबै राजनीतिक दल र सबै नेता मधेस र मधेसीका मागप्रति संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । पुस्तक सार्वजनिकीकरण कार्यक्रममा भएको उपस्थितिले नै पुस्तकको गहनतालाई प्रस्तुत गरेको रोचक प्रसंगसमेत उनले उठाए । समग्रमा पुस्तक ओजपूर्ण बनेको उनले बताए । संविधान समझदारीको दस्ताबेज हो । नेपालको संविधान बनाउन मधेस, आदिवासी, जनजाति, दलति, पहाडी आदि सबैको उत्तिकै महत्त्वपूर्ण योगदान रहेकोसमेत उनले बताए ।
कार्यक्रममा लेखक बस्नेतले आफूले कान्तिपुरमा रिपोर्टिङमा देखेका अनुभूतिलाई पुस्तकमा समेटेको बताए ।
पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो । मोटो गाता भएको पुस्तकको ६०० र पातलो गाता पुस्तकको ५५५ रुपैयाँ मूल्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया