काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि जारी रहेको छ ।
बैठकमा केन्द्रीय समिति सदस्य तथा प्रदेश विशेष समन्वय समितिका अध्यक्ष ओम शर्माले पेश गरेको १५ बुँदे प्रस्तावमाथि समेत छलफल भइरहेको छ । सोमबारको बैठकमा सार्वजनिक महत्वका विषयमा उठेका एजेण्डा र प्रश्नहरु’ पेश गरिएको हो ।
प्रस्तावमा आगामी संघीय र प्रदेश निर्वाचनको सम्भावित परिणामले पार्टीको भविष्य निर्धारण गर्ने भएकाले पार्टीले वस्तुस्थितिको विश्लेषण गर्दै ऐतिहासिक निर्णय गर्नुपर्ने उल्लेख छ । प्रस्तावमा शर्माले युवा पुस्तालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिएका छन् । ‘संसदमा कार्यसम्पादन कमजोर भएका पुरानै र थकित अनुहार, भविष्यमा केही गर्न नसक्ने कमजोर व्यक्तिलाई रोजगारीका लागि मात्र संसद पठाउने गल्ती गर्नु हुँदैन’, उनको प्रस्तावमा भनिएको छ, ‘यो प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशका तर्फ पनि लागू गर्नुपर्छ ।’
त्यस्तै, औचित्य पुष्टि नभएसम्म २०६३ यता चार पटक संसद भएकालाई यसपटक उम्मेदवारी नबनाउने ऐतिहासिक निर्णय लिइनुपर्नेमा पनि प्रस्तावमा जोड दिइएको छ । यसो गर्दा युवा पुस्तालाई संसदमा प्रवेश गर्ने बाटो खुला हुने प्रस्तावमा भनिएको छ । श्रीमान–श्रीमतीलाई त कुनैपनि मूल्यमा संसद छिराउने दुस्साहस गर्न नहुने उनको भनाइ छ ।
जनताको मन जित्ने चुनावी कार्यक्रम ल्याउनुपर्ने
बैठकमा केन्द्रीय सदस्य शर्माले पेश गरेको प्रस्तावमा पार्टीको लोकप्रिय मत बढाउने रणनीति तय गर्नुपर्नेमा जोड दिइएको छ । सशक्त चुनावी एजेन्डा तय गर्नुपर्नेमा जोड दिइएको छ । एउटा निर्वाचन जित्ने र अर्कोको तयारीमा लाग्ने वा निर्वाचनदेखि निर्वाचनसम्मको गोलचक्करबाट बाहिर निस्कने र पार्टीलाई बलियो बनाएर जित सुनिश्चित गर्ने आधार तयार पार्ने हो भने पार्टीले ऐतिहासिक निर्णय लिनैपर्ने प्रस्तावमा उल्लेख छ ।
‘संघको चुनावमा जनताले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादनको पनि मूल्यांकन गर्ने भएकाले हाम्रो पार्टीका प्रदेश सरकार, स्थानीय सरकारले जनताको मन जित्ने प्रकृतिका चुनावी कार्यक्रम ल्याउन पर्दछ’, प्रस्तावमा भनिएको छ, । ‘गठबन्धन वा तालमेलमार्फत हामीले प्रत्यक्षतर्फ ठिकै सिट जित्न सक्छौ“ । तर, अहिलेको मुख्य विषय समानुपातिक मार्फत हामीले हाम्रो शक्ति प्रदर्शन गर्नुपर्छ । यसका लागि समानुपातिक तर्फको सूचीमा देशले विश्वास गरेका विभिन्न क्षेत्रका १५–२० जना प्रतिष्ठित/विज्ञ व्यक्तिहरु समेट्नु पर्छ । ताकि प्रतिष्ठित/विज्ञहरु माओवादीका सम्पती हुन् भन्ने सन्देश दिनुपर्छ । यसैको बलमा हामीले चार–पाँचलाख मतसम्म बढाउन सक्छौं ।’
पारदर्शीता र संगनात्मक अभियान चलाउनुपर्ने
बैठकमा पेश गरिएको प्रस्तावमा पारदर्शीता र संगठनात्मक सुधारको अभियान चलाईनुपर्ने उल्लेख गरिएको छ । ठूला शहरहरु र राजधानीमा पार्टीको अवस्था दयनीय विशेष राजनीतिक र संगठनात्मक अभियान चलाइनु पर्नेमा पनि जोड दिइएको छ । यस्तै पार्टीलाई विधिसम्मत चलाइनुपर्ने, केन्द्रीय कार्यालयलाई चलायमान बनाइनुपर्ने, पार्टीले लिने हरेक निर्णयहरु पारदर्शी र संस्थागत हुनुपर्ने, योग्यता क्षमता अनुसारको जिम्मेवारी दिइनुपर्ने लगायतका विषय पनि १५ बुँदेमा समेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया