काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा सडकको भित्ता काटेर ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।
शुक्रबारदेखि सुरु गरिएको सडक खन्ने काम नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि तथा विज्ञहरूको निगरानीमा भइरहेको छ । निर्माण व्यवसायीहरूले शनिबारसम्म ट्रयाक खोलेर नागढुङ्गा–मुग्लिङ सडक सञ्चालन गर्ने तयारी गरेका छन् ।
निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार कृष्णभीरको मुग्लिङतर्फ करिब १५० मिटर ट्रयाक खोलिसकिएको छ । त्यस्तै, मलेखुतर्फ करिब १०० मिटर ट्रयाक खोलिएको र बाँकी करिब ५० मिटर ट्रयाक शनिबार खोल्ने तयारी भइरहेको छ ।
खड्काले सडक निर्माणको काम रातदिन निरन्तर भइरहेको बताए । उनका अनुसार प्राविधिक, अपरेटर, इन्जिनियर र कर्मचारीहरू रातको समयमा समेत काममा खटिएका छन् ।
उनले विपद्को समयमा यात्रुलाई सहज बनाउन अस्थायी भए पनि व्यवस्थित रूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताए । सडक खुलेपछि यात्रुले तत्कालै सहज रूपमा आवतजावत गर्न सक्ने उनको भनाइ छ ।
गत भदौ १० गतेदेखि आएको त्रिशूली नदीको बाढीले कृष्णभीर, परेवाभीरलगायत विभिन्न स्थानमा सडक कटान गरी बगाएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधन प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भइरहेको छ ।
निर्माण व्यवसायीहरूले शनिबार साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालनमा ल्याउने लक्ष्यसहित कामलाई तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया