काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई एक अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।
नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार त्यहाँको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको सो ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरे ।
यो ड्रोन विशेष गरी मानिस पुग्न नसक्ने अँध्यारा र साँघुरा सुरुङभित्र सजिलै उड्न र अवलोकन गर्न सक्षम छ । फ्लाईबिलिटीका ड्रोनमा विशेष घेरा हुने भएकाले सुरुङका भित्ता वा चट्टानमा ठोक्किए पनि नखसी निरन्तर उडान भर्न सक्छ ।
नयाँ प्रविधिको प्रयोगबाट सुरुङभित्र जोखिमपूर्ण अवस्थामा रहेका मानिसको उद्धार गर्न धेरै सहज हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया