उपत्यका प्रहरीले हराएका २० थान मोटरसाईकल धनीलाई बुझायो

लोकपथ
21
Shares

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

ट्राफिक कार्यालयमा आज आयोजित एक कार्यक्रमा प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्चात् परिचालित ट्राफिक प्रहरी टोलीको विशेष सक्रियतामा खोजतलास गरी फेला परेका मोटरसाइकलहरु सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले बताए । उनले भने, ‘हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन्, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं ।’ अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।’

प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर, स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताए । उनले सवारी चालक थप जिम्मेवार भएर सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे ।

प्रहरीले यस आर्थिक वर्ष २०७८/०७९ मा ४ सय ६३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ४४ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान एवं कारवाहीको लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ ।

मोटरसाईकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?