म्याग्दीका कृषकले चार लाख ६० हजार राहत पाए

लोकपथ
0
Shares

वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् ।

डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८÷०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० वटा पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए ।

“प्रदेश सरकारको कार्यविधिअनुसार ३७ वटा खसी, बाख्रा र बोका, सात वटा पाठापाडी र छवटा बङ्गुरको राहत वितरण गरेका हौँ”, उनले भने, “३० जना कृषकले राहत पाउनुभएको छ ।” बाख्रा, खसी र बोकाको रु दश हजार, पाठापाडीको रु तीन हजार र बङ्गुरको रु छ हजार पाँच सय का दरले राहत वितरण गरिएको हो । चितुवाको आक्रमणबाट सबैभन्दा बढी क्षति बेहोर्ने कृषक मङ्गला गाउँपालिकाका छन् ।

वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरण र सचेतनामूलक गोष्ठी गरिएको छ । वन्यजन्तुको उपभोगका लागि दशवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?