देउवासँग विश्वप्रकाश र गगनको १ घण्टा, कांग्रेस बनाउनेदेखि सेयर बजारसम्मका छलफल

लोकपथ
399
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महामन्त्रीद्वय शर्मा र थापाले भेट गरि विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

महामन्त्रीद्वयले करिब १ घण्टा प्रधानमन्त्री देउवासँग छलफल गरेको र सो क्रममा पार्टीलाई गतिशील बनाउने, भातृ संगठनको पूर्णता दिने, लगातारको मूल्यवृद्धिको विषय, एसपीपी, सेयर लगानीकर्ताहरुको समस्या समाधान गर्नेसहित झापामा रेलको मुवाब्जा नपाएको विषयमा छलफल भएको महामन्त्री शर्मा निकट स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

शर्मा निकट स्रोतका अनुसार महामन्त्रीद्वयले कांग्रेसलाई गतिशील बनाउने साथै पार्टीका भातृ संगठनलाई पूर्णता दिने विषयमा समेत देउवाको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी लगातारको मूल्यवृद्धिको विषयमा सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने भन्ने विषयमा समेत ध्यानाकर्षण गराएका छन् ।

‘निरन्तरको मूल्यवृद्धि नियन्त्रण र वैकल्पिक व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल र ध्यानाकर्षण गराउनुभएको छ ।’ स्रोतले लोकपथलाई भन्यो ।

त्यसैगरी पछिल्लो समय सबैभन्दा बढी चर्चा र विवादमा रहेको अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) लगायत शैन्य रणनीतिसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । एपसीसीबारे जनतामा नराम्रो भ्रम पर्न गएको बताउँदै सरकारले थप त्यस विषयमा प्रस्ट पानुपर्ने विषयमा सरकारको ध्यानाकर्षण रहेको छ ।

त्यसैगरी झापामा रेल्वेको मुवाज्जाको विषयमा देखिएको समस्याहरुको समाधानका लागि सरकारले पहल गर्नुका लागि समेत सरकारको ध्यानाकर्षण गराएको स्रोतको भनाइ रहेको छ ।

त्यस्तै पछिल्लो समय बजार अत्याधिक घटेर मारमा रहेका लगानीकर्ताहरुको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउँदै त्यसको समाधानको पहल गर्न आग्रह गरेको स्रोतको भनाइ रहेको छ ।

‘पछिल्लो समय सेयर बजार डामाडोल भएर लगानीकर्ता मारमा परेका छन् । त्यसो हुँदा उनीहरुको राहतको लागि सरकारले केही व्यवस्था गर्नका लागि समेत ध्यानाकर्षण गराउनुभएको छ । उनीहरुको राहतको लागि के कसरी काम गर्न सकिन्छ छलफलको विषय बनाउनेबारे प्रधानमन्त्री समेत सकारात्मक हुनुभएको छ ।’ स्रोतको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?