अन्तर्राष्ट्रिय समितिमा प्रधानमन्त्रीको अनुपस्थितीबारे सत्ता र प्रतिपक्षीबीच सवालजवाफ

लोकपथ
49
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नभएपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच चर्काचर्की भएको छ ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण र अमेरिकाको स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी) बारे जवाफ दिन प्रधानमन्त्रीलाई समितिले बोलाएको थियो ।

तर आजको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नभएपछि त्यसको विरुद्ध आवाजहरु उठेको छ ।

बैठकमा सभापति पवित्रा निरौलाले बारम्बार ताकेता गर्दा पनि नआएर प्रधानमन्त्रीले समितिको अवमूल्ययन गरेको भन्दै खेद प्रकट गरेकी छिन् ।
उनले प्रधानमान्त्रीले निरन्तर बोलाउँदा पनि नआएर समितिकै अपमान र अपहेलना गरेको बताइन् । ‘यसरी ताकेता गर्दा पनि प्रधानमान्त्रीज्यूले बैठकमा नआएर संसदीय समितिकै अपमान र अपहेलना गर्नुभयो ।’ सभापतिले निरौलाको भनाइ रहेको छ ।

यता एमाले सांसद भीमबहादुर रावलले यसरी प्रधानमन्त्रीले निरन्तर बैठकलाईै ढाट्नु खेदजनक रहेको भन्दै आपत्ति जनाएका छन् ।

एसपीपीमा नेपाल सहभागी हुन नसक्ने भनेर अहिलेसम्म पत्र नलेखेको भन्दै रावलले समितिले नै सरकारलाई पत्र लेख्नका लागि निर्देशन दिनुपर्ने मागसमेत गरेका छन् ।

‘एसपीपीबारे प्रधानमन्त्री स्वयंबाट जवाफ माग गरिरहेका थियौं, समितिको बैठकमा जवाफ दिन प्रधानमन्त्री आउन पर्दैन ? उहाँ नआउँदा आशंका भइहाल्छ,’ रावलले बैठकमा भने, ‘एसपीपीमा संलग्न हुन्न, हुने छैनौँ भनेर पत्र लेख्नुपर्छ, सरकारले अहिलेसम्म किन अमेरिकालाई पत्र नलेखेको ? त्यसैले यो बैठकले प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नौ भनेर पत्र लेख्न निर्देशन जारी गरौँ ।’

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण र अमेरिकी स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी) बारे प्रश्न उठेपछि समितिले प्रधानमन्त्रीलाई बोलाएको थियो ।

शुक्रबारको बैठकमा समेत सो विषयमा छलफल भएको थियो । तर आजको बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ दिने कार्यक्रम रहेकोमा आज पनि कार्यव्यस्तता देखाउँदै प्रधानमन्त्रीले बैठकमा अनुपिस्थत भएका हुन् ।

प्रधानमन्त्रीको विरोध हुन थालेपछि सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल भने प्रधानमन्त्रीको बचाउमा उत्रिएकी छिन् । उनले प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको भन्दै आलोचना गर्न नहुने तर्क पेश गरेकी छिन् ।

त्यसो त अमेरिका भ्रमण र एसपीपीबारे प्रश्न उठेपछि संसदमा समेत सत्ता र प्रतिपक्षी दलका सांसदले जवाफ दिन माग गरेका थिए । तर प्रधानमन्त्रीले संसदमा आफू उपस्थित नभइ गृहमन्त्री मार्फत जवाफ पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?