काठमाडौं । अर्थ मन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माको विषयमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । अन्नपूर्ण पोष्ट दैनिकले जेठ ३० गते ‘मध्यराति बजेटमा जान चुकुल लाग्यो…’ विषयमा समाचार छापेको थियो । उक्त विषयमा मन्त्रालयले विज्ञप्तिमार्फत प्रष्टीकरणसहित ध्यानाकर्षण गराएको हो ।
अर्थ मन्त्रालयले २०७८ चैत १ गतेदेखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरु तथा अन्य सरोकारवाला निकायसँग परामर्श/अन्तक्रिया प्रारम्भ गरेको, मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौडा समिति गठन गरेको तथा सर्वसाधारणको प्रतिक्रिया, सुझावहरु संकलन सुरु गरेको जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमाको क्रममा अर्थमन्त्री सामान्यतया सूचीकृत औपचारिक कार्यक्रमबाहेक हरेक दिन बिहान ७:३० बजे मन्त्रालय पुग्ने र राति अबेरसम्म रही बजेटलाई पूर्णता दिन मन्त्रालयका अधिकारीहरुसँग निरन्तर छलफल गर्ने कार्यमा खट्दै आएको अर्थ मन्त्रालयले प्रस्ट पारेको छ ।
बजेटलाई अन्तिम रुप दिन क्रममा जेठ १४ गते मन्त्रालयमा बिहानैदेखि अर्थमन्त्रीको नेतृत्वमा सचिव, सहसचिव र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरु तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधयेक, ऋण तथा जमानत लगायतक विषयमा बजेटसँग सम्बन्धित विषयहरु तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरुबाहेक अरु कसैको सहभागिता नरहेको मन्त्रालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया