काठमाडौं । शनिबार रातिको अविरल वर्षाले कागेश्वरी मनोहरा नगरपालिका–३ ब्रह्मखेलमा पहिरो जाँदा घर पुरिएर एकै घरका चार जना घाइते भएका छन् । पहिरोले शिरोमणि सिग्देलको घर पुरिँदा सिग्देल, उहाँकी श्रीमतीसावित्री सिग्देल, छोराद्वय क्रमशः विपुल सिग्देल र विप्लव सिग्देल घाइते भएको महानगरीय प्रहरी प्रभाग थलीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकामा गम्भीर घाइते सावित्रीलाई राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा पठाइएको प्रभागका इञ्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए ।
शिरोमणिसहित छोरा विपुल र विप्लव भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । पहिरो गएको स्थलको प्रदेश नं ३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत जनप्रतिनिधिले आजै अवलोकन गरे ।
पहिरोले सिग्देलको घर पूर्णरुपमा क्षति भएको छ । पुरिएका सामान नगरपालिकाको सहयोगमा निकाली छिमेकीको घरमा राख्न दिइएको प्रहरी नायव निरीक्षक यादवले बताए । सो स्थानमा अझै पहिरोको जोखिम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया