आयातमुखी अर्थतन्त्र सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री बडू

लोकपथ
28
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आयातमुखी अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । उद्योग सङ्गठन मोरङको ४९ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले खाद्यान्नलगायत अन्य सामान आयातमा रहेको परनिर्भरता हटाउन र व्यापार सन्तुलन कायम गर्न निजी क्षेत्रले कृषिलगायत औद्योगिक उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बडूले वर्तमान सरकार निजी क्षेत्रको सहयोगका लागि लागि आर्थिक एवं मौद्रिक नीतिमा सुधार गर्न तयार रहेको बताउँदै उद्यामीको सङ्घसंस्थाको सुझावअनुसार सरकारले यस वर्षको बजेटमा भूमि, ऊर्जा, निर्यात उद्योगमा सहुलियतको व्यवस्था गरेको जानकारी गराए । उनले सरकार मुलुकमा उद्योग, उद्यमी र उत्पादनलाई वृद्धि गर्ने लक्ष्यलाई साथ दिन तयार रहेको छ भन्दै उत्पादन वृद्धि, रोजगारी, निकासीयोग्य गुणस्तरीय वस्तु उत्पादनमा निजी क्षेत्रलाई सरकारले सहयोग गर्ने धारणा राखे ।

मन्त्री बडूले मोरङको कटहरीमा जग्गा मुआब्जा समाधान गरी मालवाहक रेल्वे सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यसले नेपालको वार्षिक अर्बौं रकमको बचत हुने बताए । उनले सरकारले सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा रहेको ६५० बिघा जग्गामा औद्योगिक जोन निर्माण गर्ने बजेटमा उल्लेख भएको चर्चा गर्दै यसबाट यस क्षेत्रका निर्यातमूलक उद्योग स्थापना भई रोजगारी वृद्धि हुनुका साथै आर्थिक चलायमान हुने विश्वास व्यक्त गरे ।

प्रदेश नं १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रताप प्रकाश हाङ्गामले ५६२ बिघा क्षेत्रफलमा रहेको विराटनगर जुटमिल सञ्चालन गर्न पहल सुरु गरेको जानकारी दिँदै यसबाट मुलुकले विदेशी मुद्रा आर्जनमा मद्दत पुग्ने धारणा राखे । उनले यस क्षेत्रमा नागरिकलाई रोजगारी उपलब्ध गराउने निजी क्षेत्रलाई उद्योग स्थापनामा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले स्वदेशी उद्योगलाई प्रोत्साहन दिएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने भन्दै औद्योगिक प्रदर्शनीस्थल निर्माण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?