सार्वजनिक सडकमा पशुपंक्षी छोडे मालिकलाई एकवर्ष कैद, १० हजार जरिवाना

काठमाडौं । सार्वजनिक सडकमा छाडिएका पुशपंक्षी सवारी साधनको ठक्करबाट घाइते तथा मरेमा उल्टै चालक र धनीबाट क्षतिपूर्ति अशुल्ने कार्यका विरुद्ध कानुन निर्माण भएको छ । 

नयाँ मुलुकी संहिताले सार्वजनिक सडकमा घरपालुवा पशुपंक्षी छोडेर दुर्घटना गराउन सक्रिय पशुपंक्षीका मालिकलाई नै कारवाही गर्नुका साथै क्षतिपूर्ति भराउने कानुनी ब्यवस्था गरेको छ । 

यसअघि सार्वजनिक सडकमा पशुपंक्षी छोडेर गाडीले ठक्कर दिएमा उल्टै मालिकहरुले क्षतिपूर्ति लिने गरेका थिए । यही भदौंबाट लागू हुने नयाँ कानुनले सार्वजनिक सडक, मैदान तथा स्थलहरुमा घरपालुवा पशुपंक्षी छोड्न रोक लगाएको छ । 

यसरी, छोडिएका पशुपंक्षीबाट कुनै ब्यक्ति वा सवारी चालक र यात्रीहरुमा क्षति पुगेमा पशुपंक्षीका मालिकलाई पक्राउ गरी कानुनी कारवाहीको ब्यवस्था गरिएको छ । अर्कोको घर आगन, वारी तथा सडक बाटोमा छाडा छोडेको खण्डमा उल्टै मालिकलाई जरिवाना हुने छ ।

घरपालुवा पशुपंक्षीलाई छाडा छोड्न नहुने ब्यवस्था गरिएको छ । घरपालुवा हिंस्रक पशुपंक्षी छाडा छोड्दा त्यसको आक्रमणबाट कसैलाई गम्भीर चोटपटक लाग्न पुगी ज्यान गएमा मालिकलाई एकवर्ष कैद १० हजार जरिवाना हुने छ । 

त्यस्तैं, मुलुकी अपराध संहिता ऐनको दफा २९० ले  पशुपंक्षीमाथि गरिने निर्दयी व्यबहार र कसुर सम्वन्धी ब्यवस्था गरेको छ । 

गाई र गोरु मार्ने तथा काट्ने कार्यमा प्रतिवन्ध लगाएको छ । कसैले गाईगोरु कुटी,मारी, अंगभंग पारेमा छ महिना कैद ५० हजार जरिवाना सजाय तोकेको छ । 

तर, आफ्नो जिउ ज्यान जोगाउने क्रममा गाई गोरु मर्न गएमा वा चोट लागेमा कसुर गरेको मानिने छैन । 

पशुपंक्षीलाई कुटि, हिर्काइ वा बोक्न सक्ने क्षमता भन्दा बढी भारी बोकाइ वा सामथ्र्यभनदा बढी दौडाइ यातना दिइ निर्दयी र क्रुर ब्यवहार गरेमा तीन महिना कैद ५० हजार जरिवानाको ब्यवस्था गरेको छ । 

त्यस्तैं, परम्परागत रुपमा चलिआएको धार्मिकस्थल मठ, मन्दिर वा शक्तिपिठहरु वाहेक सार्वजनिक स्थलमा पशुपंक्षीको वली, निर्दयी तथा क्रुरयातना दिन नपाउने ब्यवस्था गरेको छ । पशुपंक्षीमाथि पनि भद्रब्यवहार प्रदर्शन गर्न सुचित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?