स्थापितले गरे निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन, बोले प्रतिस्पर्धीमाथि दुर्वाच्य

लोकपथ
623
Shares

काठमाडौं । काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका केशव स्थापितले आफ्ना प्रतिष्पर्धीहरुप्रति दुर्वाच्य प्रयोग गरेका छन् ।

आज चुनावी अभियानका क्रममा मेयरका उम्मेदवार स्थापितले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहाबारे दुर्वाच्य बोलेका हुन् ।

घरदैलो कार्यक्रममा बोल्दै स्थापितले कांग्रेसबाट उम्मेदवार बनेकी सिंहसँग कुनै पनि नीति तथा कार्यक्रम नभएको आरोप लगाए । त्यस्तै सिंहसँग कुनै नारा नभएको टिप्पणी गर्दै पहिले भान्सा सम्हाल्नेले अहिले काठमाडौं सम्हाल्ने भनेर निर्वाचन जित्न नसक्ने टिप्पणी गरे ।

‘नीति–कार्यक्रम केही पनि छैन । काठमाडौं कस्तो छ, यसलाई कसरी रूपान्तरण गर्ने भुतिभाङ केही थाहा छैन । अनि भन्छ भने पहिले भान्सा सम्हालेँ, अब काठमाडौं सम्हाल्छु । यस्तो पनि नारा हुन्छ ? यस्तो पनि कार्यक्रम हुन्छ ?’ उनले भने ।

त्यसैरी मेयरको उम्मेदवार बनेको मान्छे सार्वजनिक मञ्चमा आउन नसकेको भन्दै निर्वाचनमा बहिस्कार गर्नुपर्ने कटाक्ष गरे ।

‘सिर्जना सिंह उम्मेदवार हो भने एउटा मञ्चमा आउने तागत देखाउनु परेन रु त्यति तागत नभएको महिलाले सहर हाँक्छु भन्ने रु सिंगै बहिष्कार गर्नुपर्छ । एक भोट पनि हाल्नु हुँदैन ।’ उनले भने ।

त्यस्तै काठमाडौं महानगरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका अर्का उम्मेदवार बालेन साहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिँदै काठमाडौंमा नजन्मिएको समेत आरोप लगाए ।

मेयरका उम्मेदवार स्थापितले बालेनलाई फुच्चेको संज्ञा दिँदै आफूसँग भेट्दा काठमाडौंमा जन्मिएको पहाडिया ठकुरी भनेपनि मधेसतिरको साह रहेको टिप्पणी गरे । बालेन मधेशमा जन्मिएको दाबी गर्दै स्थापितले काठमाडौंमा जन्मिएको भनेर काठमाडौंबासीलाई ठगेको आरोप लगाए ।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेशतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’ उनले भने ।

स्थापितले बोलेका शब्दहरुले सिधै निर्वाचन आचारसंहिता उल्लंघन गरेको मान्न सकिन्छ । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा कसैको पनि भावनामा आँच आउनेगरी गाली गलौज गर्न नपाइने भनेको छ । तर स्थापितले मधेशी समुदायको भावनामा आँच आउने किसिमको अभिव्यक्ति साथै व्यक्तिगत लान्छाना लगाउने काम गरेका छन् ।

के छ आचारसंहितामा ?

कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छाना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्न वा गराउन नहुने ।

स्थापितले आफ्ना प्रतिष्पर्धीहरुलाई बोलेको दुर्वाच्यलाई आधार मान्दै उनीमाथि उजुरी गरेमा कानुन लाग्ने आचारसंहितामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?