स्थानीय निर्वाचन : कांग्रेसबाट ३० हजार बढीले दिए उम्मेदवारी, कुन पदमा कति ?

लोकपथ
105
Shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट देशभर ३० हजार बढीको उम्मेवदारी परेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गर्दै देशभरबाट विभिन्न पदमा ३० हजार ६ सय २८ जनाको उम्मेदवारी परेको जानकारी दिएका हुन् ।

उनका अनुसार जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी परेको हो ।

वैशाख ३० गते देशभारका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदको लागि निर्वाचन हुँदै छ । ६ महानगर, ११ उपमहानगर, २७३ नगरपालिका र ४६० गाउँपालिकामा स्थानीय तहको निर्वाचन हुँदैछ । जसको लागि ६ महानगरपालिकामा ६–६ जना प्रमुख र उपप्रमुख, ११ उपमहानगरपालिकामा ११–११ जना प्रमुख र उपप्रमुख, २७३ नगरपालिकामा २७३–२७३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा ४६०–४६० अध्यक्ष तथा उपाध्यक्ष , ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ वडा महिला सदस्य, ६ हजार ७४३ जना वडा दलित महिला सदस्य र १३ हजार ४८६ अन्य वडा सदस्यको पदको लागि निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एक लाख ५२ हजार ४ सय ६५ उम्मेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?