स्थानीय निर्वाचन : धनगढी उपमहानगरपालिकामा पुरानै अनुहारहरू उम्मेदवारको दौडमा

धनगढी । आसन्न स्थानीय निर्वाचन आउन डेढ महिना मात्रै बाँकी छ । राजनीतिक दलहरूले चुनावकेन्द्रित अभियान अघि बढाइसकेका छन् । यद्यपि प्रमुख राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छैनन् ।

तर हरेक पालिकामा विभिन्न राजनीतिक दलका तर्फबाट आकांक्षीहरूबारे बहस गर्माउन थालेको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारहरूले आ–आफ्नो प्रचारप्रसार तीव्र बनाउँदै गएका छन् ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा पनि प्रमुख राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रिया अझै अघि बढाएको देखिएको छैन । तर, उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष पदका लागि विभिन्न दलबाट आकांक्षीहरू देखिन थालेका छन् ।

धनगढी उपमहानगरपालिकामा यस पटक पनि विभिन्न राजनीतिक दलका पुरानै अनुहारहरू प्रमुख पदका लागि आकांक्षी देखिएका छन् ।

नेपाली कांग्रेसबाट उपमहानगरपालिकाको प्रमुखमा वर्तमान नगरप्रमुख एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड र उपप्रमुख तथा केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट तथा कांग्रेस नेता कृष्ण महरा आकांक्षी रहेका छन् । चुनावको मिति नजिकिँदै जाँदा कांग्रेसबाट आकांक्षीहरूको सङ्ख्या बढ्ने सम्भावना देखिएको छ ।

नेकपा एमालेबाट जिल्ला उपाध्यक्ष दुर्गा प्रसाद जोशी र नेता रणबहादुर चन्द आकांक्षी देखिएका छन् । जोशी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमहानगरपालिका प्रमुखको उम्मेदवार रहेका थिए । चन्द पनि त्यतिबेला प्रमुखको आकांक्षी रहेका थिए । केही महिनाअघि भएको एमालेको जिल्ला अधिवेशनमा उनी जिल्ला अध्यक्षका उम्मेदवार रहेका थिए ।

नेकपा माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिका प्रमुखका लागि अहिलेसम्म दुई जनाको नाम चर्चामा छ । गत स्थानीय निर्वाचनमा नगर उपप्रमुख पदको उम्मेदवार रहेका शान्ति अधिकारी र धनगढी वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरको नाम चर्चामा रहेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट धनगढी नगरअध्यक्ष मदन रेग्मी र व्यवसायी राजेश भण्डारीको नाम चर्चामा छ ।

२०७४ सालको निर्वाचनमा पाँचै स्थानमा आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटक नगरप्रमुखमा आफ्नो उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । पार्टीका जिल्ला प्रवक्ता छत्र शाहीले भने, ‘हामीले नगरप्रमुखमा गोपाल हमाललाई समर्थन गर्ने र उपप्रमुखलगायत अन्य पदमा उम्मेदवारी दिने निर्णय गरेका छौँ ।

राष्ट्रिय जनमोर्चाबाट नगरप्रमुखमा चन्द्रबहादुर बिष्ट, खडक राना, नगरसचिव शिव जैशी र अञ्जना श्रेष्ठको चर्चा छ । विष्ट २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवार थिए भने राना २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका थिए ।

प्रमुख दलहरूले उम्मेदवार छनोट प्रक्रिया सुरु गरी नसकेको भए पनि व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारका रुपमा प्रचारप्रसार तीव्र बनाइसकेका छन् । हमाल २०७४ सालको निर्वाचनमा नगरप्रमुखमा दोस्रो स्थानमा रहँदै पराजित भएका थिए ।

सो निर्वाचनमा पराजित भएपछि विवेकशील साझा पार्टीको प्रदेश संयोजकको जिम्मेवारी लिएका हमालले पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा २०४६ को राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय चुनावमा नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा जित हासिल गरेको थियो । २०५४ सालमा भएको निर्वाचनमा भने नेकपा (एमाले) विजयी भएको थियो ।

धनगढी उपमहानगरपालिकासहितको तत्कालीन क्षेत्र नम्बर ३ मा २०४८ सालको आम निर्वाचनमा कांग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।

२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः कांग्रेसले जित प्राप्त गरेको थियो ।२०६२/०६३ को सफल जनआन्दोलनपछिको पहिलो संविधानसभा सदस्य निर्वाचन (२०६४)मा धनगढीसहितको क्षेत्र नम्बर ६ बाट माओवादी केन्द्र विजयी भएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचन (२०७०) सालमा क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । सो निर्वाचनमा देउवा डडेल्धुराबाट पनि निर्वाचित भएका थिए ।

निर्वाचनपछि देउवाले कैलाली क्षेत्र नम्बर ६ छोडेपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट पुस्करनाथ ओझा विजयी भएका थिए ।

त्यस्तै, २०७४ सालको संघीय निर्वाचनमा धनगढीसहितको क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका उम्मेदवार नारदमुनि राना विजयी भएका थिए ।

धनगढी उपमहानगरपालिका : २०७४ को निर्वाचन मतपरिणाम

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा ५४ हजार छ सय ५६ मत खसेको थियो । भने एक हजार दुई सय मत बदर भएको थियो ।

सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर प्रमुख वड १४ हजार तीन सय २४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार पाँच सय २७ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेबाट उम्मेदवार रहेका दुर्गाप्रसाद जोशीले नौ हजार नौ सय ४६ मत प्राप्त गरेका थिए । त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार दुई सय नौ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले आठ सय २९, तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले चार सय ५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले दुई सय ३६ मत प्राप्त गरेका थिए ।

करिब १७ हजार मतदाता थपिए

पछिल्लो पाँच वर्षमा धनगढी उपमहानगरपालिकामा झण्डै १७ हजार मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनयता धनगढी उपमहानगरपालिकामा १६ हजार सात सय २१ मतदाता थप भई ९६ हजार एक सय ५१ मतदाता पुगेका छन् ।

आगामी निर्वाचनका लागि उपमहानगरपालिकामा ४५ हजार नौ सय २४ महिला, ४७ हजार दुई सय २४ पुरुष र तीन जना तेस्रो लिङ्गी मतदाता पुगेको निर्वाचन आयोगले जनाएको छ ।

२०७४ को निर्वाचनमा ३८ हजार पाँच सय ६१ महिला, ३७ हजार आठ सय ८६ पुरुष र तीन जना तेस्रो लिङ्गी गरी ७६ हजार चार सय ३० मतदाता रहेका थिए । त्यसमध्ये उपमहानगरपालिकामा कुल मतदाताको ८७ दशमलव ११ प्रतिशत मतपत्र खसेको थियो । खसेको कुल मतमध्ये दुई दशमलव १९ प्रतिशत बदर भएको थियो ।

आगामी निर्वाचनका लागि निर्वाचन कार्यालयमा २३ दल निर्वाचनमा भाग लिने भनी दर्ता गराएका छन् ।

धनगढी उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा ३३ वटा मतदान स्थल र ८६ वटा मतदान केन्द्र रहेकोमा आगामी निर्वाचनमा ३४ मतदानस्थल र एक सय चार केन्द्र रहने आयोगले जनाएको छ ।

नेपाली कांग्रेसबाट नपरप्रमुखका आकांक्षीहरू

नृपबहादुर वड

आगामी स्थानीय तहको निर्वाचनमा वडले पुनः नगरप्रमुखको उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । कांग्रेसको दुई पटक धनगढी नगरसभापति बनिसकेका उनी पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

सुशीला मिश्र भट्ट

लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय नगर उपप्रमुख भट्टले २०७४ को निर्वाचनमा पनि नगरप्रमुखको दाबी गरेकी थिइन् । पछि उनलाई उपप्रमुखको उम्मेदवार बनाइएको थियो । निर्वाचनमा उनले १७ हजार चार सय आठ मतका साथ विजय प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रुकमणी देवकोटाले १२ हजार सात सय ६३ मत प्राप्त गरेकी थिइन् ।

भट्ट कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।

कृष्ण महरा

नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय कृष्ण महराले २०७४ सालको निर्वाचनमा पनि नगरप्रमुख पदको दाबी गरेका थिए ।

पर्यटन व्यवसायी समेत रहेका महराले क्षेत्रमा काम गर्दै आइरहेका छन् । उनले नेपाल पर्यटन बोर्डको सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।

नेकपा एमाले उम्मेदवार

दुर्गा प्रसाद जोशी

नेकपा एमालेबाट नगरप्रमुखको दाबेदार जोशी २०७४ सालको निर्वाचनमा पनि उम्मेदवार रहेका थिए । शिक्षा क्षेक्रमा समेत सत्रिय जोशीले सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

रणबहादुर चन्द

विद्यार्थी जीवनबाट नेकपा एमालेको राजनीतिमा होमिएका रणबहादुर चन्दले यस पटक पनि नगरप्रमुखको दाबी गरेका छन् ।

एमाले कैलालीको सचिव समेत रहिसकेका चन्द केही महिनाअघि भएको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा झिनो मतले पराजित भएका थिए ।

गोपाल हमाल

यस पटक पनि स्वतन्त्र उम्मेदवारका रुपमा प्रस्तुत भएका गोपाल हमाल २०७४ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार वडसँग २७ सय बढी मतले पराजित भएका थिए ।

निर्वाचनमा पराजित भएपछि हमाल विवेकशील साझा पार्टीको प्रदेश संयोजक बनेका थिए । तर, निर्वाचन मिति घोषणा भएलगत्तै उनले सो पदबाट राजीनामा दिई पुनः स्वतन्त्र रुपमा धनगढी नगरप्रमुखको उम्मेदवार हुने घोषणा गरेका छन् ।

हमाल कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?