भारतको विहार सरकार र मधेश प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धनको विषयमा छलफल

लोकपथ
42
Shares

काठमाडौं । आजादीका अमृत महोत्सव (भारत @ ७५) अन्तर्गत, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले हिजो (मंगलबार) ‘विहार सरकार र मधेश प्रदेश सरकारबीच पर्यटनको प्रवर्द्धन’ शीर्षकमा होटल भिसुवा, वीरगन्जमा छलफल गरेको छ ।

द्विपक्षीय पर्यटन प्रवर्द्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो रहेका थिए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधि सहभागी थिए । छलफलमा भारत र नेपालका तर्फबाट आ–आफ्ना धारणा राखेका थिए । प्रमुख अतिथिका साथ उनका प्रदेश सचिव पनि सहभागी थिए ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धलाई वक्ताहरूले प्रकाश पारेका थिए। भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख गरिएको थियो । मधेश प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको थियो।

सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्ने विषयमा मन्त्रीले सहमति जनाएका थिए । उनले उठाइएका बिन्दुहरूलाई उचित रूपमा लिइएको र समस्याहरू समाधान गर्न उपयुक्त कदम चालिने पनि सहभागीहरूलाई आश्वासन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?