काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तरव्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना अन्तरव्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ गतेदेखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन शुक्रबार बेलुका इन्डोनेशिया प्रस्थान गर्न लागेका हुन् ।
अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहनेछन् । त्यस्तै संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रियसभा अध्यक्षको प्रमुख स्वकिय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधि मण्डलमा रहने संसद् सचिवालयले जानकारी दिएको छ ।
सो सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो : मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्नुहुने भएको छ । त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरुको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्नेछन् । भ्रमणबारे संक्षिप्त कुराकानी गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठुलो जोखिममा रहेकाले यसका सम्बन्धमा गम्भीरतापूर्वक कुरा राख्ने बताए ।
उनले भने, ‘मुख्य विषय यसपालिको भनेको जलवायु परिवर्तनसँग सम्बन्धित छ । नेपाल जलवायु परिवर्तनको अत्यन्तै ठूलो एउटा संक्रमण, जोखिममा परिरहेको छ । हाम्रा हिमालहरु पनि पग्लिएर काला भइराखेका छन् । तापक्रम बढेको छ । अनि मौसममा पनि यस्तो परिवर्तन आइराखेको छ । अतिवृष्टि, अनावृष्टि धेरै खालका यसका प्रकोपहरु छन् । त्यसकारण यो विषयलाई नेपालले गम्भिरतापूर्वक लिएको छ र यिनै विषयमा केन्द्रित भएर मैले त्यहाँको सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।’
अध्यक्ष तिमिल्सिनाले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिनुहुने कार्यक्रम रहेको छ । सो सत्रमा राष्ट्रियसभा सदस्यद्वय भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटाले पनि सहभागिता जनाउनेछन् ।
त्यसैगरी अनिता देवकोटाले महिला संसद् सदस्यहरुको बैठक एवं छलफलमा, उमाशंकर अरगरियाले युवा संसद् सदस्यहरुको बैठक एवं छलफलमा भाग लिनुहुने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा सदस्य सुरेन्द्रबहादुर कार्कीले ‘इन्गेजिङ फर अ युनिभर्सल बन अन न्यूक्लियर टेस्टस्’ विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संघीय संसदका महासचिव भरतराज गौतम ‘एसोसिएसन अफ सेक्रेटरिज् जेनेरल अफ पार्लियामेन्ट्स’ सम्मेलनमा सहभागी हुनेछ ।
सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते शुक्रबार बेलुकी ८ः४५ बजे नेपाल फर्किने संघीय संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया