निर्वाचनमा एमालेसँग चुनावी तालमेल हुन सक्छ : प्रचण्ड

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी तालमेल हुन सक्ने संकेत गरेका छन् ।

अध्यक्ष दाहालले कांग्रेसले लखेट्नै थाल्यो भने एमालेसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताएका हुन् । तर त्यो कांग्रेसको व्यवहारमाथि भरपर्ने उनको स्पष्टिकरण थियो ।

बिहीबार बुटवलका स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले आफ्नो पार्टीको मुख्य जोड भने सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जाने र राम्रो परिणाम ल्याउनेतिर हुने पनि दोहोर्‍याए । कांग्रेसका केही नेताहरुले अन्य दलसँग कुनै पनि हालतमा चुनावी तालमेल हुन नसक्ने अतिवादी खालका अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसो हो भने चुनावी गठबन्धनबारे परिस्थितिमा बदलाव आउन सक्ने स्पष्ट पारे ।

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे । उनले निर्वाचन तोकिएकै मितिमा हुनेमा प्रधानमन्त्रीसमेत विश्वस्त रहेको बताए ।

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा नहुने अवस्था कहीँकतै पनि नदेखिएको दाबी गरे । नेपालमा चुनावको दिन समेत मत हाल्न पाईन्छ कि पाईदैन भन्ने चलन भएपनि चुनाव हुने गरेको उनले स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?