धनगढी पुगेर प्रचण्डले भने, ‘सुदूरपश्चिमको मन्त्रीमण्डल पुनर्गठन हुन्छ, कांग्रेसलाई सहभागी गराउँछौँ’

लोकपथ
399
Shares

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् ।

सोमबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारमा नेपाली कांग्रेसको पनि सहभागिता हुनेगरी मन्त्रीमण्डल पुनर्गठन गरिने बताएका हुन् ।

केन्द्रमा पाँचदलीय गठबन्धन र छवटै प्रदेशमा सोही गठबन्धनको सहभागितामा मन्त्रीमण्डल रहे पनि सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी र माओवादी केन्द्रको सरकार रहेको छ ।

‘सबै प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार छ । सुदूरपश्चिम प्रदेश सरकारको सहभागिता हुन सकेको छैन । गठबन्धनको छलफलमा सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डलमा कांग्रेसको पनि सहभागिता गराउने भनी सहमति भएको छ । सोहीअनुसार मन्त्रीमण्डल पुनर्गठन गरिनेछ’ उनले भने, ‘मन्त्रीमण्डलमा एस पार्टीकै बढी मन्त्री रहेकाले कुनै न कुनै व्यक्तिले पद त्याग त गर्नैैपर्छ । माधव कुमार नेपालज्यूले यसबारे पार्टीभित्र छलफल गरी टुङ्गो लगाउने भन्नुभएको छ । कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको छ ।’

उनले बागमती प्रदेशको मुख्यमन्त्रीको नेतृत्व माओवादी केन्द्रलाई दिए सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको नेतृत्व आफुहरुले छाड्ने बताए ।

‘सात प्रदेशमध्ये दुई प्रदेश कांग्रेस, दुई प्रदेश एस, दुई प्रदेश माओवादी केन्द्र र एक प्रदेश जनता समाजवादी पार्टीलाई दिनेगरी सहमति भएको छ । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी बलियो छ र सोहीअनुसार मुख्यमन्त्रीमा उनीहरुको दाबी रहेको छ’ उनले भने, ‘बागमती प्रदेशमा माओवादी केन्द्र बलियो छ । त्यहाँ मुख्यमन्त्री हामीलाई दिने हो भने सुदूरपश्चिम प्रदेशको नेतृत्व उहाँहरुलाई दिन तयार छौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेको प्रचण्डले आफनो पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा होमिएको बताए ।

‘हाम्रो ध्यान स्थानीय निर्वाचन केन्द्रित रहेको छ । आफ्नै खुट्टामा उठेर आफ्नै तागतमा निर्वाचन लड्ने हाम्रो नीति हो’, उनले भने, ‘त्यसका साथै तालमेलको सम्भावना भयो भने हामी गठबन्धनका पार्टीहरुसंगको तालमेललाई नै प्राथमिकता दिएर जाने भन्ने हाम्रो नीति छ । अहिले गठबन्धनको स्थिति पनि ठीकै ढंगले अघि बढिरहेको छ ।’

उनले गठबन्धनमा राम्रै छलफल, बैठक चलिरहेको र सहमति समझदारीबाटै गइरहेको बताए ।

‘कतिपय पार्टीभित्र मानिसहरुले विभिन्न टिप्पणी गरे पनि मुल नेतृत्वपंक्ती फेरि यो गठबन्धनलाई लिएर जाने कुरामा दुविधामा छैन’, उनले भने, ‘तपाईँहरुले प्रधानमन्त्रीको केही दिनअघिको वक्तव्य पनि सुनिसक्नुभयो । गठबन्धनलाई असर पार्ने कुरा नबोल भनेर आफ्नै नेताहरुमा पनि निर्देशन जारी गर्नुभएको छ । त्यसाे हुनाले गठबन्धनमा कुनै अप्ठ्यारो तितो छैन ।’

उनले एमाले अनाहकमा प्रतिनिधिसभाको बैठक अवरोध गरिरहेको बताए ।

‘एमालेले जे तर्क दिएर बैठक अवरोध गरिरहेको छ त्यो कतै मिल्दैन । त्यो संविधानसँग पनि मिल्दैन । लोकतान्त्रिक मान्यतासँग पनि मिल्दैन । परम्परासँग पनि मिल्दैन । मिल्दै नमिल्ने कुरामा अवरोध गरिरहेका छन्’, उनले भने, ‘१४ जनाको कुरा अदालतमा छ । अदालतको फैसला नभईकन सदनले गर्ने कुरा होइन त्यो । सभामुखले आफूलाई तोकिएको अधिकारको कुरा १५ दिनभित्र गर्ने काम १३ दिनभित्रै गरिसक्नुभएको छ । एमालेले अनाहकमा वास्तवमा जनप्रतिनिधिकाे सभालाई काम गर्न नसक्ने बनाउने उद्देश्य रहेको छ ।’

उनले एमालेले फेरि पनि प्रतिनिधिसभा विघटन गराउनुपर्छ भन्ने स्थिति सिर्जना गर्न बैठक अवरोध गरिरहेको दाबी गरे ।

एक अर्को प्रसङ्गमा बोल्दै अध्यक्ष प्रचण्डले प्रकाश सपूतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताए । प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूतिअनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुनसक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्‍याे भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै उनले भने, ‘त्यसको त्यति धेरै विरोध गर्नुपर्नेजस्तो मलाई लाग्दैन ।’

प्रकाश सपूतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसा समेत गरे । उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए ।

‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्’, प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?