काठमाडौं । नागढुंगा चेकपोष्टबाट आइतवार साँझ बरामद भएको ६ किलो सुनको मालिक को हुन ? अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु अझैपनि नाजवाफ छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले भने–सुन मालिकाको खोजीमा नै छौं । सुन सहित पक्राउ परेका सिन्धुपाल्चोक मार्मिङ– ८ का तेन्जिङ तामाङले सुन मालिक चिन्दिन भनेपछि प्रहरी अधिकारी नाजबाफ बनेका हुन् ।
नेपाल–चीन सिमानादेखि काठमाडौंसम्म भरियाको काम गर्दै आएका तामाङले रोमिङ कल सुविधा सहितको चाईनिज मोवाइल नम्बर प्रयोग गर्ने गरेको पाइएको छ ।
‘केरुङनाकाबाट सुन मोटरसाइकलमा राखेर काठमाडौंको स्वयम्भुसम्म ल्याई पु¥याइ दिएबापत ५० हजार नगद लिने गरेको वयान तामाङले दिएका हुन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख केशव भट्टको कमाण्डमा खटेको टोलीले बा. ९५ प ८१६४ नम्बरको मोटरसाईकल चढेर रसुवा, नुवाकोट हुँदै धादिङको गल्छी बाट काठमाडौं आउँदै गरेका तेन्जिङलाई सुन सहित पक्राउ गरेको थियो ।
कम्मरमा खैरो कालो छिर्के मिर्के लेजिड सलमा सुन बाँधेर आएका तेन्जिङ यसअघि पनि सुन ओसार–पसारमा संलग्न भएको पाइएको छ ।
तर, उक्त सुनका मालिक भने अझै फरार छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए अनुसार, केरुङ नाकाबाट एक चिनियाँ व्यापारीले तामाङलाई सुन दिँदै भनेका थिए– ‘स्वयंभु लगेर छाडिदिनु त्यहाँ अर्को मान्छे लिन आउँछ ।
अभियुक्त तेन्जिङलाई आवश्यक कानुनी कारवाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरी परिसरले जनाएको छ । शनिबारबाट नागढुङ्गा नाकाबाट तीन किलो सुन सहित पाँचजना पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया