सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको उनको भनाइ छ । “आजको छलफल सकारात्मक भएको छ । प्रतिपक्षी एमालेसँग निरन्तर छलफललाई अगाडि बढाएर निष्कर्षमा पु¥याउँछौँ,” सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने ।
यस्तै संसद्मा लामो समयदेखि जारी रहेको गत्यावरोधलाई हटाउने विषयमा पनि महत्वपूर्ण संवाद भएको उनको भनाइ छ । राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अगाडि बढाउन आजको छलफल ‘आइसब्रेक’ भएको मन्त्री कार्कीले उल्लेख गरे ।
उनले संसद्को प्रभावकारिता बढाउने र जीवन्त बनाउने विषयमा प्रमुख प्रतिपक्षीसँग महत्वपूर्ण छलफल भएको र यसलाई निरन्तर जारी राखेर चाँडै निष्कर्षमा पु¥याइने उनले जानकारी दिए । फरक एक प्रसङ्गमा मन्त्री कार्कीले सत्तारूढ गठबन्धनमा कुनै पनि अविश्वास नरहेको समेत उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया