सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

लोकपथ
140
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुगेका उनले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराए ।

मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पारे ।

‘फास्ट ट्रयाक’को विधि अपनाएर भएपनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिएका थिए ।

उनले जनशक्तिको अभाव र विश्वविद्यालयअन्तर्गतको विद्यार्थीहरुको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाइ हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएकका बताए ।

मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयका सबै शाखाको अनुगमन गरी त्यहाँका कर्मचारीहरुको गुनासो सुन्नु भएको थियो । त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताए ।

उनले सो विश्वविद्यालयको समग्र पुनर्संरचना गरेर अघि बढनुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?