काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौँसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले नेपालको स्रोतले रसुवागढीबाट काठमाडौँसम्म रेल ल्याउन नसक्ने भएकाले सहयोग माग गर्ने तयारी भइरहेको बताउनुभयो ।
“अनुदान, सहुलियत दरको ऋण र ऋण तीन प्रकारका सहयोग लिएर नै रसुवागढीबाट काठमाडौँ र रक्सौलबाट काठमाडौँ रेल ल्याउन सकिन्छ, सरकारले यसकै लागि गृहकार्य गरिहरहेको छ, अनुदान पहिलो प्राथमिकता हुन्छ”–उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले दुई वर्षअघि कार्यकारी प्रमुखका रुपमा चीन भ्रमण गर्दा रेललगायत पूर्वाधार विकासका १० बुँदे सम्झौता गर्नुभएको थियो । यसपटक त्यसैलाई कार्यान्वयनमा लैजाने मुद्दालाई भ्रमणमा प्राथमिकता दिइने नेकपाका नेता समेत रहनुभएका डा भट्टराईले बताउनुभयो ।
भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी भित्र्याउन विश्वासको वातावरण बनाउने गृहकार्यसमेत भएको उहाँको भनाइ छ । नेपालमा स्थिर सरकार भएकाले लगानीको वातावरण छ भन्ने सन्देश प्रधानमन्त्री ओलीको भ्रमणमा दिनुपर्नेमा नेता भट्टराईले जोड दिनुभयो ।
चीनसँग भएका पारवाहन तथा यातायात सन्धी, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर ट्रान्समिसन र आर्थिक लगानी तथा द्विपक्षीय व्यापारलगायतलाई अब र्दुत गतिमा कार्यान्यवन गर्न चिनियाँ पक्षसँग वार्ता गर्ने सरकारको तयारी छ ।
नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) मा नेपाली प्रतिनिधिमण्डलको सदस्यसमेत रहेका नेता भट्टराईले समूहको अन्तिम बैठक यही असार १५ र १६ मा काठमाडौँमा बस्ने तयारी भएको जानकारी दिनुभयो ।
“हामीले सबै प्रतिवेदन टुङ्गो लगाएका छौँ, भारतीय पक्षले छलफल गरिरहेको छ, यो बैठक नै अन्तिम बैठक हुनेछ, यदि भएन भने पनि दोस्रो अन्तिम बैठक हुन्छ, यही बैठकबाट हामी दुवै देशका प्रधानमन्त्रीलाई एउटै प्रतिवेदन बनाएर बुझाउँछौँ”– उहाँले भन्नुभयो ।
देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन दुवै छिमेकीको सहयोग लिने सरकारको नीति रहेको सो अवसरमा नेता भट्टराईले स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया