सरकारले ल्याएको बजेट विदेभकारी छ : पूर्व सांसद साह

काठमाडौं । नेपाली जनता दलका अध्यक्ष तथा पूर्व सांसद हरिचरण साहले सरकारले प्रस्तुत गरेको बजेट विभेदकारी रहेको आरोप लगाएका छन् ।  

रिपोर्टर्स क्लब नेपालमा संयुक्त दलित अधिकार मञ्च नेपाल, पार्टी निर्माण अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद साहले यस्तो आरोप लगाएका हुन् । 

उनले भने,‘नेपालका हरेक परिवर्तनमा दलित वर्गको ठूलो भूमिका रहँदै आएको छ, तर आजको स्थितिमा दलित वर्गको कुनै स्थानमा राम्रो प्रतिनिधित्व र सहभागिता छैन्, यो अत्यन्तै दुःखलाग्दो कुरा हो ।’

त्यस्तै कार्यक्रममा अभियानमा अभियान्ता मेखराज परियारले संविधान समाजवादउन्मुख भएपनि दलित वर्गको लागि नीति तथा कार्यक्रमले सम्बोधन नगरेको आरोप लगाएका छन् । 

उनले भने,‘संविधानले समाजवादको परिकल्पना गरेको छ, तर दलित, जनजाति, दुर्गम क्षेत्र, उत्पीडित वर्ग लगायतलाई सम्बोधन गर्ने खालको बजेट आउन सकेन, त्यसैले यस बजेटको बारेमा संशोधन हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

अभियानका संयोजक लक्ष्मण बर्देवाले जनताको जन–जीवनलाई सम्बोधन गर्ने बजेट वाम सरकारले नल्याएको आरोप लगाए । विभेदकारी बजेटकै कारण आफूहरु आन्दोलित हुनुपर्ने स्थिति आएको उनको भनाई छ ।  

उनले भने,‘दलित वर्गले विगतका सबै आन्दोलनहरुमा उच्च भूमिका खेल्दै आएको कुरा सबैलाई अवगत नै छ, तर राज्यको माथिल्लो निकायमा उपस्थिको संख्या हेर्दा कमजोर छ, दलित वर्गको नाममा धेरै राजनीति भयो तर दलितले नै उचित प्रकारको संरक्षण पाउन सकेनन् ।’

त्यस्तै अर्का अभियान्ता बालकृष्ण अछामीले वाम गठबन्धनले निर्वाचनमा जनताको बीचमा गरिएका प्रतिवद्धता अनुरुप बजेट ल्याउन नसकेको आरोप लगाएका छन् ।

उनले भने,‘वाम गठबन्धले जनतालाई सुन्दर सपनाहरु बाँडेर चुनाव जिते, त्यसपछि सरकार पनि बन्यो, दलित वर्गले प्रगतिशील राजनीतिक दलहरुलाई भोट दिँदा हाम्रो समाजको उत्थान हुन्छ भन्ने आशाकासाथ चुनाव जिताए तर बजेट आउँदा कुनैपनि कुरा स्पष्ट नपारेर गोलमोटल रुपमा आएको छ, दलितलाई दिने भनिएको धितो बिनाको ऋणको बारेमा केही खुलाईएको छैन्, आधारहरु के–के हुन ? कसरी प्राप्त गर्ने ? समुहले १० लाख पाउने हो कि के गर्ने हो ? यी प्रश्नको बारेमा बजेट अनुत्तरित छ ।’

त्यस्तै कार्यक्रममा कर्णसिंह बिसीले विगतका आन्दोलनहरुमा दलित वर्गको ठूलो भूमिका रहेको स्मरण गराएका छन् । 

उनले भने,‘२००७, २०४६–०४७ सालको आन्दोलन होस् या १० वर्षे जनयुद्ध होस्, दोस्रो जनआन्दोलन किन नहोस् दलितहरुको प्रत्यक्ष भूमिका र सहभागिता रहेको थियो, वाम गठबन्धनले केही गर्ला भनेर हामीले सोचेका थियौं, तर त्यो हुन सकेन, त्यसैले हाम्रो लागि आफै राजनीतिक दल खोलेर अघि बढ्ने प्रक्रियामा पुगेका हौं, तत्कालै दलित वर्गको हितमा एउटा विशाल पार्टी निर्माण हुनेछ ।’

कार्यक्रममा तिलक बिसी, मनोज जैगडिले आफ्ना कुराहरु राखेका थिए भने प्रेम नेपालीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?