सुदूरपश्चिम प्रदेशमा पर्यटन बोर्डको स्थापना

धनगढी । कैलालीको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, प्रचार–प्रसारलगायतका गतिविधि अघि बढाउन सो कार्यालय स्थापना गरिएको हो ।

विगत लामो समयदेखि यहाँका निजी व्यवसायीहरूले प्रदेशमा बोर्डको कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै आए पनि अहिलेसम्म पहल हुन सकेको थिएन ।

सोमबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सो कार्यालयको समुद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री आलेले कार्यालय सञ्चालनका लागि बजेट अभाव हुन नदिने बताए ।

 

उनले यस वर्ष बोर्डका लागि एक करोड बजेट विनियोजन गर्न मन्त्रालयलाई निर्देशन दिइसकेको बताए ।

‘प्रदेशमा बोर्ड सञ्चालनका लागि कति बजेट आवश्यक पर्छ भन्दा ५० लाख भनिएको थियो । तर, मैले त्यति बजेटले पुग्दैन एक करोड राख्न भनेको छु’ उनले भने, ‘कार्यालय सञ्चालनमा कुनै पनि बाधा अवरोध हुन दिदैनौँ । अब दिगो रुपमै यो कार्यालय रहनेछ ।’

No description available.

उनले प्रदेशको पर्यटन क्षेत्रको विकासमा कुनै कमी कमजोरी हुन नदिने बताए ।

‘यहाँ बोर्डको कार्यालय स्थापना गर्नुपर्ने माग विगतदेखि नै भइरहेको थियो’, मन्त्री आलेले भने, ‘यति धेरै नेताहरूले भाषण ठूला गरे तर, काम गरेनन् । अब पर्यटन क्षेत्रमा फड्को मार्ने गरी बोर्डले काम गर्नेछ ।’

उनले कार्यालय सञ्चालनका एक जना प्रवन्धक, एक अधिकृतसहित आवश्यक दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गरिने बताए ।

मन्त्री आलेले बोर्डमा पर्यटकको सहजताका लागि प्रदेशको पर्यटन क्षेत्रका तस्बिर, नक्सासहित राख्न पनि निर्देशन दिए ।

मन्त्री आलेले धनगढी विमानस्थललाई प्रदेशकै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल भइरहेको बताए ।

‘अहिलेसम्म धनगढी विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको थिएन । २५ सय मिटर रनवे बनाउनका लागि मन्त्रालयले काम अघि बढाइसकेको छ । विमानस्थलका लागि एक अर्ब बजेटको व्यवस्था गर्न भनिसकेको छु’, मन्त्री आलेले भने, ‘अब धनगढीबाट काठमाडाैं मात्र होइन हामी अमेरिका पनि पुग्न चाहन्छौँ ।’

उनले भारतीय पर्यटकलाई सुदूरपश्चिमकै बाटो भएर मानसरोबर पु¥याउन सडक पूर्वाधार निर्माण भइरहेको बताए ।

‘धनगढी–खुटिया–दिपायल सडकको काम अघि बढाउन चार चरणमा काम भइरहेको छ । सो सडकका लागि ९७ करोडमा टेन्डर भइसकेको छ । तर, दुर्भाग्य ठेकेदारले काममा ढिलाइ गर्दा समस्या भएको छ’, मन्त्री आलेले भने, ‘३० महिनामा सकिने काम ४६ महिनामा पनि पुर्ण हुन सकेको छैन । ठेकेदारले ठेक्का लिने अनि पेश्की लगिसकेपछि काम अघि नबढाउने विडम्बना छ ।’

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बोर्ड धनगढीमै स्थापना भएपछि सुदूरपश्चिम प्रदेशका जनतालाई नजिकबाट सेवा पाउन सहज भएको बताए ।

‘अहिलेसम्म यहाँका पर्यटन व्यवसायी तथा नागरिकहरूले पर्यटन प्रवद्र्धन तथा विकासमा पाउनुपर्ने सेवा लिन काठमाडौँ तथा नेपालगञ्ज धाउनुपर्ने थियो’, उनले भने, ‘अब प्रदेशमै कार्यालय स्थापना भएपछि यो समस्या हटेको छ । राजनीतिक परिवर्तनसँगै कार्यालय हटाउने तथा सार्ने प्रवृत्ति पनि छ त्यसैले यसलाई दिगो बनाउन पनि सरकारले पहल गरोस् ।’

आर्थिक मामिला मन्त्री तारा लामा तामाङले सुदूरपश्चिम पर्यटन क्षेत्रको सम्भावन बोकेको प्रदेश भएकाले यसको विकासका लागि तीनै तहले समन्वय, सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

‘धेरै राष्ट्रले पर्यटन क्षेत्रबाटै राम्रो आम्दानी गरेका छन् । हाम्रो प्रदेश पर्यटकका लागि ‘भर्जिन’ क्षेत्र हो । यहाँ पूर्वाधार विकास भएमा प्रदेशको आम्दानीको स्रोत पनि पर्यटन क्षेत्रलाई बनाउन सकिन्छ’, मन्त्री तामाङले भने, ‘विमानस्थलको स्तरोन्नति तथा सञ्चालन, सडक पूर्वाधारको विकास, आवश्यक नयाँ गन्तव्यको पहिचानलगायतका काम बोर्डले गर्नुपर्छ ।’

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले विगतदेखि माग गर्दै आइरहेको बोर्डको कार्यालय अहिले आएर सार्थकता पाएको बताए ।

‘हामीले २०६३ सालदेखि जिल्ला सुदूरपश्चिम महोत्सव सञ्चालन गर्दै आइरहेका थियौँ । सोही बेलादेखि प्रदेशको विकासका लागि हरेक प्रधानमन्त्रीलाई २१ बुँदे मागपत्र बुझाइरहेका थियौँ उनले भने, ‘सो माग पत्रमा पर्यटन बोर्ड प्रदेशमा स्थापना गर्नुपर्ने पनि उल्लेख थियो । आज आएर हाम्रो एक माग पूरा भएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?