काठमाडौं । गत आर्थिक वर्ष २०८२–०८३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १२ लाख नाघेको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षको अवधिमा कुल १२ लाख ९ हजार ३५७ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जसले नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किरहेको संकेत गरेको छ ।
पर्यटक आगमनका आधारमा भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । गत आर्थिक वर्षमा भारतबाट ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी पर्यटक आगमनको करिब २५.७६ प्रतिशत हो । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ तथा चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अष्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन् ।
महिनागत विवरणअनुसार कात्तिक महिनामा सबैभन्दा बढी १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ तथा असोजमा १ लाख ११ हजार ७८० पर्यटकको आगमन भएको बोर्डले जनाएको छ ।
पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डले विशेषगरी भारत र चीनलाई लक्षित गर्दै विभिन्न प्रचारात्मक अभियान सञ्चालन गरेको जनाएको छ ।
समीक्षा अवधिमा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई र नयाँ दिल्लीलगायतका सहरमा १२ भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएका थिए। साथै अन्य अन्तर्राष्ट्रिय बजारमा पनि ४० भन्दा बढी पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको बोर्डले जनाएको छ ।
यस्तै, आर्थिक वर्षको अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएका झापादेखि कञ्चनपुरसम्मका क्षेत्रमा क्रस–बोर्डर पर्यटन मार्ट तथा पर्यटन मेलाहरू आयोजना गरिएको थियो। बोर्डका अनुसार यस्ता गतिविधिले स्थलमार्ग हुँदै नेपाल आउने विदेशी पर्यटकको संख्या वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
नेपाल पर्यटन बोर्डले आगामी दिनमा प्रमुख स्रोत बजारमा लक्षित प्रचार–प्रसार, अन्तर्राष्ट्रिय साझेदारी र नयाँ पर्यटन गन्तव्यको प्रवर्द्धनलाई थप विस्तार गर्दै विदेशी पर्यटक आगमनलाई अझ बढाउने लक्ष्य लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया