नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको चुनावमा उपसभापति पदमा हारेपनि आफूले विजयी महसुश गरेको बताएकी छन् । उनले देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका महिलाहरुको मुहारमा आशा र उत्साह देखेको भन्दै उनले यसले आफूलाई अझै हौसला थपेको बताएकी छन् ।
‘नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु । मैंले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु’, उनले उपसभापति पदमा पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै भनेकी छन् ।
उनले अगाडि भनेकी छन्, ‘मैंले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैंले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ ।’
‘मैंले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरुमा जुन हौसला देखें त्यसले निकट भविष्यमा महिला काँग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ’, उनले भनेकी छन्, ‘यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु ।’
उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित रहेको भन्दै पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गरेकी छन् । उनले सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल पनि गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया