जनताका लागि वर्तमान सरकार अन्तिम आशा : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको भरोसालाई तल माथी पर्न नदिने बताएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

“जनताको लागि यो सरकार अन्तिम आशा हो । जनताको यो आशालाई तलमाथी पर्न दिइदैन” प्रधानमन्त्री ओलीले भने “हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला ? त्यसकारण सदाचार भएर देश बनाउन सबै लाग्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले हरेक बालबालिकामा फरक–फरक खालका क्षमता हुने तर शिक्षाले सैद्धान्तिक ज्ञानलाई मात्र मान्यता दिने नाममा बच्चालाई असफल गराएर ठूलो अन्याय गरेको बताए । “असाधरण क्षमता भएका साना नानीहरुलाई हामी फेल बनाएर उनीहरुको हृदयमा बन्चरो हानिरहेका छौं” प्रधानमन्त्री ओलीले भने “ति बच्चाहरु फेल होइन सरकार, शिक्षक, विद्यालय, पाठ्यक्रम र शिक्षा प्रणाली फेल हो ।” बच्चाहरुको क्षमता पहिचान गरेर रुचीको विधामा उनीहरुलाई सिक्ने अवसर प्रदान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको नतिजा सन्तोषजनक नरहेको बताए । शिक्षकहरुलाई नतिजा सुधार्नका लागि कक्षा कोठामा प्रविधिको प्रयोग र शिक्षकहरुलाई अध्ययन गर्ने बानी बसाउन आग्रह गरेका छन् । अस्थायी शिक्षकका समस्या समाधान गर्न पनि सरकार गम्भिर भएकोे प्रधानमन्त्री ओलीको भनाइ छ । 

“पढाउन नजान्ने शिक्षक राखेर हुँदैन” प्रधानमन्त्री ओलीले भन “सबै शिक्षकहरुले आफूले पढाउने विषयमा दक्षता हासिल गर्नुहोस् । विषय वस्तुको ज्ञान शिक्षकलाई नै छैन भने कसरी पढाउनुहुन्छ ?”

प्रधानमन्त्री ओलीले शैक्षिक प्रमाणपत्र लिएर केही पनि नजान्ने र रोजगार पनि नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । “शिक्षालाई आधुनिक, प्रतिस्पर्धी, विकास र रोजगारसँग जोडिएको बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?