काठमाडौं । उत्कृष्ट निक्षेप कारोबार गरेबापत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रिय समाचार समिति(रासस)लाई सम्मान गरेको छ । बैंकको शाखा कार्यालय थापाथली र टेकुले आज संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने ग्राहकलाई सम्मान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब कार्यकारी अधिकृत कविराज अधिकारीलगायतले राससका प्रमुख समाचारदाता कृष्ण अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए । राससले लामो समयदेखि बैंकको थापाथली शाखामार्फत निक्षेप कारोबार गर्दै आएको छ ।
सो अवसरमा थापाथली तथा टेकू शाखामार्फत उत्कृष्ट कारोबार गर्ने सरकारी निकाय, गैरसरकारी संघसंस्था, व्यावसायिक घराना एवम् व्यक्तिगत ग्राहकले गरेको उत्कृष्ट निक्षेप कारोबारको मूल्यांकन गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकलाई विश्वसनीय र प्रतिस्पर्धी ढंगबाट प्रभावकारीरूपमा सेवा दिँदै आएको र आगामी दिनमा पनि यसका सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए । उनले बैंक र निक्षेपकर्ता एकअर्काको परिपूरक र सहयोगी रहेकाले गहिरो सम्बन्ध रहेको बताए ।
नायब कार्यकारी अधिकृत अधिकारी र थापाथली शाखाका प्रबन्धक विक्रममान श्रेष्ठले पनि बैंकका थापाथली र टेकु शाखाले सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल भएको बताए । निक्षेपकर्ताको तर्फबाट कृष्ण कँडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष एवम् गीतकार कृष्ण कँडेलले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको सेवा निकै चुस्त दुरुस्त रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया