धनुषा – नेपाल कम्युनिस्ट पार्टीले आज प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सरकारको १०० दिनको उपलब्धिहीन रहेको र प्रतिपक्षीको मानमर्दन गरेको भन्दै तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाले समर्थन फिर्ता लिएको हो ।
एक सय सात सदस्य रहेको प्रदेशसभामा एमालेका २१ को र माओवादी केन्द्रको ११ गरी एकीकृत भएको नेकपाका जम्मा ३२ सांसद रहेका छन् भने काँग्रेसका १९ सांसद रहेका छन् ।
गत जेठ ३ गते काँग्रेसलाई प्रमुख विपक्षी दलका रुपमा मान्यता दिएपछि एमाले र माओवादी केन्द्रले उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा मुख्यमन्त्री लालबाबु राउतले दिएको विवादित भाषणका कारण उत्पन्न तनाव सरकारको समर्थन फिर्तासम्म पुगेको बताइएको छ ।
तत्कालीन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले आजदेखि शुरु बर्खे अधिवेशनको पहिलो बैठकमा संसद् अवरुद्ध गरे । मण्डलले भने, “मोदी भ्रमणका बेला विपक्षीलाई बेवास्ता गर्ने सरकारलाई हाम्रो समर्थन हुँदैन ।”
त्यसैगरी माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले पनि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको बताए । उनले सरकार भ्रष्टाचारमा लिप्त भएको र भ्रष्टाचारका भागी आफूहरु नबन्ने भन्दै समर्थन फिर्ता लिएको बताए ।
नेकपाले समर्थन फिर्ता लिए पनि प्रदेश सरकारसँग भने बहुमत कायमै छ । एक सय सात सदस्यीय प्रदेशसभामा सत्तारुढ संघीय समाजवादी फोरम र राजपा मिलुन्जेल बहुमत कायमै हुनेछ ।
दुवै दलका गरी ५४ जना सांसद छन् भने एक जना स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गरेका छन् । सरकार गठन गर्न ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । तर अब विपक्षी भने बलियो भएको छ । यसअघिसम्म काँग्रेसबाहेक सबै दल र स्वतन्त्र सांसदको पनि समर्थन सरकारलाई रहेकामा अब नेकपा र काँग्रेस विपक्षी दल बन्न पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया