कांग्रेस काठमाडौँको ६ प्रदेश निर्वाचन क्षेत्रको नतिजा आयो

RSS
546
Shares

नेपाली कांग्रेस काठमाडौँको २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज भएको अधिवेशनमा ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ७ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ८ प्रदेश ‘क’ र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा निर्विरोध नेतृत्व चयन भएको जानकारी दिए ।

निर्विरोध भएसँगै काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’ मा रामप्रसाद लुईँटेल, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’ मा रमेश डङ्गोल, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ मा ख्यामराज तिवारी, काठमाडौँ क्षेत्र नं ७ प्रदेश ‘क’ मा नविन मानन्धर, काठमाडौँ क्षेत्र नं ८ प्रदेश ‘क’ मा इन्द्रमानसिंह सुवाल र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा राजेन्द्रप्रसाद भट्टराई सभापति बनेका छन् ।

बीस वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन प्रक्रिया अगाडि बढेपनि काठमाडौँ निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ र ‘ख’मा भने भोलिमात्र निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत आचार्यले बताए । यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?