एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिए

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थप भएका छन् । 

नयाँ पार्टीको स्थायी समितिमा बुधबार एमाले अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्डले ४३ जना रहेने गरी टुंयाएको स्थायी कमिटीमा दुई जना थप गरिएको हो । 

जसमा एमालेको तर्फबाट २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहने निर्णय गरिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । अब एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुने भएको छ ।

कूल ४४१ जनाको केन्द्रीय समितिमा २४१ एमालेका तर्फबाट र २०० जना माओवादी केन्द्रका तर्फबाट रहनेछन् । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य रहनेछ । 

अब एमालेको हालको स्थायी कमिटीका सबै नेताहरु एकीकृत पार्टीको पनि स्थायी कमिटीमा नै रहने भएका छन् । नेकपा माओवादीबाट भने एकीकृत पार्टीमा रहने नेताहरुको नाम टुंग्याइएको छैन ।
नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिइएको छ ।

उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकसमेत बस्ने भएको छ । माओवादी केन्द्रकी प्रवक्ता भुसालका अनुसार केन्द्रीय कार्यालयको बैठकमा पार्टी एकताको प्रक्रियाका बारेमा अध्यक्ष दाहालले जानकारी दिने कार्यसूची रहेको छ । 

त्यस्तै एकता संयोजन समितिको बैठकमा भएको सहमतिअनुसार निर्वाचन आयोगमा पुगेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल संयुक्त रुपमा निर्वाचन आयोग पुगेर एकीकृत पार्टी दर्ता गराउने कार्यक्रम छ । सो कार्यक्रमलगत्तै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको छ । अपराह्न ४ बजेका लागि सो कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले जानकारी दिए । 

एकता घोषणा कार्यक्रम सम्पन्न भएलगत्तै आज साँझ एक होटलमा यहाँ एकीकृत पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?